३२ जेष्ठ २०७३, मंगलवार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र रहेको बैंक, यात्रुका लगेज र ब्यस्त शहरका पसल फोडेर चोरीमा संलग्न चारजनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाले अलग अलग तीन घटनामा संलग्न चारजनालाई पक्राउ गरेको हो ।

जेठ २७ गते मध्यरातमा विमानस्थलको अप्रेसन बिल्डिङमा रहेको रहेको राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालयमा चोरी गर्न पसेका रामेछापका रुपेश श्रेष्ठ र तेजबहादुर श्रेष्ठलाई सि सि क्यामेराको फुटेजको सहयोगमा महाशाखाले पक्राउ गरेको हो ।

यस्तै विमानस्थलमा लोडअनलोड गर्न आजाद निर्माण कम्पनी मार्फत खटिएका सर्लाहीका राम बिनय कुमार यादवलाई सिल्क एयरका यात्रुको लगेजबाट आईफोन सिक्स चोरेको आरोपमा पक्राउ गरेको छ ।

यस्तै महाशाखाले जेठ ९ गते जमल स्थित सुर्य प्रसाद चौलागाईले संचालन गरेको रेडिमेड फेन्सी पसलको गोदामको ताला फोडी गोदाममा रहेका बिभिन्न ब्राण्डका ज्याकेट तथा ब्यागहरु चोरी गरेको आरोपमा ललितपुर बुङमतिका जगत भन्ने जनकलाल श्रेष्ठलाई चोरीका सामग्री सहित पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा अभियुक्त जगत उपत्यकाका अन्य चोरीका घटनामा समेत संलग्न भएको खुल्न आएको छ । अभियुक्त जगत २०७१ फागुन ८ गते रातिको समयमा ललितपूर स्थित रामवीर शाहले संचालन गरेको ईम्प्याक टेक्नोलोजी प्रा.लिबाट ढोका फोडी ल्यापटप तथा उपकरणहरु समेत गरी दशलाख बराबरको चोरी गरेको खुल्न आएको छ ।

अभियुक्त चारै जनालाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV