३२ जेष्ठ २०७३, मंगलवार

प्रस्तावित चरिकोट अस्पतालमा विवादका कारण सेवााग्राही थप मारमा छन् । न्याय हेल्थ नेपाल नामक एनजिओका मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा र सुविधा कटौति गरिदिएपछि स्वास्थ्यकर्मीहरु आन्दोलन भएका छन् । स्वास्थ्यकर्मीहरुको आन्दोलनका कारण सेवाग्राहीहरु मारमा परेका हुन् ।

सरकारी लेटरप्याडको दुरुपयोग गरी खाईपाई आएको सेवा सुविधा माग गर्ने सरकारी डाक्टरलाई सम्झौता अनुसार काम नगरेको भन्दै न्याय हेल्थ नेपालका मेडिकल डाईरेक्टर डाक्टर दंगालले कारवाही गरेका थिए ।

उक्त एनजिओले सरकारी स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा विभेद गरेको र नेपाल सरकारबाट प्राप्त सेवा सुविधा समेत कटौती गरेको भन्दै स्वास्थ्यकर्मीहरुको बिभिन्न ८ पेशागत संघसंगठनले विज्ञप्तिमार्फत विरोध गरेका हुन् । ३० बेडको प्रस्तावित चरिकोट अस्पतालमा हाल दैनिक २ देखि ३ सय विरामी उपचारको लागि आउँने गरेका छन् ।

तर आन्दोलनका कारण अस्पतालमा तनाव सिर्जना भएपछि विरामीहरु उपचार नै गरि घर फर्कन बाध्य भएका छन् । अस्पतालमा अहिले सरकारी एक डेन्टल सर्जन सहित ६ जना डाक्टर र एनजिओको २ जना मात्र डाक्टरले सेवा दिइरहेका छन् ।

न्याय हेल्थ नेपालले ५ महिना अघि स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी नेपालमै पहिलोपटक ३–पी मोडेलमा अस्पतालको व्यवस्थापन जिम्मा लिएको थियो । जिम्मा लिएको एकसातादेखिनै अस्पताल अबैधानिक कर्मचारी भर्नादेखि गैरजिम्मेवार उपचार पद्धति लगायतका विवादमा फस्दै आएको छ ।

तत्कालीन स्वास्थ्य सचिव शान्तराम श्रेष्ठको व्यक्तिगत चासोमा न्याय हेल्थ नेपालसँग गरिएको सम्झौतामा उल्लेखित कतिपय बुँदाहरु नेपालको प्रचलित कानुनको बर्खिलाप गरेको भन्दै कर्मचारी संगठनहरुले विरोध जनाएका छन् ।

एनजिओको कर्मचारीले नेपाल सरकारको कर्मचारी माथि धावा बोलेको, गुणस्तरीय सेवा प्रवाह नगरेको, आर्थिक पारदर्शिता नगरेको जस्ता गुनासो आएकोले स्वास्थ्य मन्त्रालयले न्याय हेल्थ नेपालसँग गरेको सम्झौता (एमओयु) पुनरावलोकन गर्न कर्मचारी संगठनहरुको माग छ ।

साथै सबै सेवा निशुल्क दिने भनिए पनि उपचारको लागि अस्पताल पुग्ने विरामीहरुले अधिकांश नीजि औषधि पसलमा किन्नु पर्ने बाध्यता रहेको पीडितहरुको गुनासो छ ।

 

LIVE TV