३२ जेष्ठ २०७३, मंगलवार

nepse h1

सेयर बजारले मंगलबार अहिलेसम्मकै सबैभन्दा ठूलो कारोबारको रेकर्ड बनाएको छ । नेपाल स्टक एक्सचेन्जमा मंगलबार २ अर्ब १९ करोड ७८ लाख रुपैयाँ भन्दा बढी मूल्यको सेयर कारोबार भएको हो ।

२ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको नेप्सेको इतिहासमा पहिलोपटक हो । मंगलबार ३७ लाख ५१ हजार ६ सय ३५ कित्ता शेयर किनबेच भएका छन् । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमोटर सेयरको कारोबार रकम सबैभन्दा बढी भयो । उक्त इन्स्योरेन्सको ४९ करोड ४ हजार रुपैयाँ बराबरका संस्थापक सेयर किनबेच भएको छ ।

यस्तै, नेपाल बंगलादेश बैंकको १४ करोड २८ लाख तथा रुरल माइक्रोफाइनान्स डेभेलप्मेन्ट सेन्टरको १३ करोड १४ लाख रुपैयाँ बराबरको शेयरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार रकमले रेकर्ड कायम गरेको दिन नेप्से परिसूचकले पनि रेकर्ड कायम गरेको छ ।

बीमासहित विभिन्न समूहको सूचक उचिलिँदा नेप्से परिसूचक मंगलबार ४ दशमलव ५६ अंकले बढेर १६ सय १४ दशमलव १५ अंकमा पुगेको छ । दिउँसो १६ सय १९को बिन्दुसम्म पुगेको नेप्से कारोबारको अन्तिम समयमा घटेर १६ सय १४ मा रोकिएको हो ।

बैंकिङ समूहको परिसूचक ६ दशमलव २२ अंकले घटेकामा वीमा,उत्पादनमूलक, जलविद्युत, होटल र विकास बैंक समूहले परिसूचक बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV