३२ जेष्ठ २०७३, मंगलवार

मधेस केन्द्रित दलहरुको आन्दोलन विदेशी दवावमा नै उभिदै,यसले राष्ट्रिय सुरक्षाको खतरा थप बढाएको निष्कर्ष,मुख्य माग संघीयताको सीमांकन भएको र यसले मुलुकलाई विखण्डनमा लैजाने दावी

cp

उपप्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सीपी मैनालीले मधेसमा दुई प्रदेश बनाउनका लागि देशी विदेशी दवाव आइरहेको खुलासा गर्नुभएको छ । मधेस केन्द्रित दलका मागहरु पनि यसैको जगमा उभिएको र यसले राष्ट्रिय सुरक्षाको खतरा थप बढाएको उहाँको निष्कर्ष छ ।

मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री मैनालीले मधेस केन्द्रित दलहरुका मागहरु र यसले पार्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रभावबारे छलफल गर्नु आवश्यक भएको बताउनुभएको हो ।

उहाँले उनीहरुको मुख्य माग संघीयताको सीमांकन भएको र यसले मुलुकलाई विखण्डनमा लैजाने दावी समेत गर्नुभयो । मधेस केन्द्रित दलहरुको मोडेलको सीमांकनमा सहमति हुन नसक्ने पनि उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री मैनालीले देशको भू–राजनीतिक अवस्था र सामाजिक ऐतिहासिक पृष्ठभूमिलाई ध्यानमा राखेर अधिकार प्राप्तिका लागि आन्दोलन गर्न दलहरुलाई सुझाव दिनुभयो । केही महिना अघिको भारतीय नाकाबन्दीको प्रसंग उल्लेख गर्दै उहाँले नाकाबन्दी खुले पनि नाकाकबन्दीको कारण अझै स्पष्ट नभएको धारणा राख्नुभयो ।

छिमेकी भारतले बिभिन्न स्वार्थका कारण यस्तो व्यवहार प्रदर्शन गरेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालबारे व्यक्त हुने गरेको चासो यसको उदाहरण भएको उहाँको कथन थियो ।

एक अर्को प्रसंगमा समाजमा महिलाहरु पनि अधिकार सम्पन्न हुदैं गएको बताउँदै मन्त्री मैनालीले नयाँ संविधानले महिलाका पक्षमा निकै महत्वपूर्ण काम गरेको जिकिर पनि गर्नुभयो ।

सो अवसरमा काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित साङ्लाका महिलाहरु लक्षित दश दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV