
भारतले चीनबाट आफ्नो भूमि मिचिरहेको लगातार गुनासो गरिरहेका बेला चिनियाँ सेनाको एउटा जत्था नै भारतीय भूमिमा छिरेको छ ।
चिनिया सेना भारतीय भूमिमा प्रवेश गरेकोवारे भारतीय सञ्चार माध्यामहरुले निकै ठूलो विषय बनाएका छन् । भारतको अरुणान्चल प्रदेशमा चिनियाँ सेनाको २ सय ५० जनाको जत्था तीन घन्टासम्म हतियारसहित बसेर फर्केको हो ।
चिनियाँ सेनाले आफ्नो भूमिमा तीन घन्टासम्म कब्जा जमाउँदा पनि भारतीय सेनाले प्रतिकार गर्न सकेन । केही भारतीय सञ्चारमाध्यमहरुले भारतीय सेनाको प्रतिरोधपछि चिनियाँ सेना आफ्नो भूमिमा फर्केको दाबी भने गरेका छन् ।
भारतीय रक्षामन्त्रालयलाई उधृत गर्दै लेखिएको समाचार अनुसार चीनका करिब २ सय ५० जना हतियारधारी सैनिक ९ जुनमा भारतीय भूमिमा आएका थिए ।
चारवटा समूहमा बाँडिएर भारतीय भूमिमा पसेका चिनियाँ सैनिक तीन घन्टासम्म बसेका सञ्चार माध्यामहरुमा जनाइएको छ । चिनियाँ सैनिकको जत्था भारतीय राष्ट्रपति प्रणब मुखर्जीको चीन भ्रमणको १५ दिनभित्रमा गएको हो । भारतीय रक्षामन्त्री मनोहर पर्रिकरले तीन दिनअघिमात्रै मोदी सरकारको नीतिका कारण चीनको तर्फबाट आफ्नो सीमाको अतिक्रमणको घटनामा कमी आएको दाबी गरेका थिए ।
यसका अलावा यो घटना अमेरिकाको सहयोगमा भारत प्रतिष्ठित परमाणु आपूर्तिकर्ता समूह एनएसजीमा सामेल हुने कोशिसमा लागिरहेका बेला हुन पुगेको छ । भारतको यो कदमको भने चीनले कडा बिरोध गरिरहेको छ।
भारतीय सेनाका एक उच्च अधिकृतका अनुसार चीनसँग जोडिएको सीमानाको अझै निर्धारण नगरिएका कारण कयौं पटक चीनका सैनिक भारतीय भूमिमा आएर बस्ने गरेका छन् ।
अरुणाचल प्रदेशस्थित लद्दाखमा लाइन अफ एक्चुअल कन्ट्रोलमा चिनियाँ सैनिकसँग भारतीय सैनिकको प्रायजसो आमनेसामने हुने गरेको छ । भारत र चीनबीच ४ हजार किलोमिटर लामो सीमाक्षेत्रमा विवाद रहेको छ ।