३१ जेष्ठ २०७३, सोमबार

nursing

अष्ट्रेलिया, बेलायत, अमेरिका, हङकङलगायतका मुलुकमा नर्सको माग बढ्दो छ । त्यसैले रोजगारको अवसरको खोजीमा ती देशहरुमा जाने नेपाली नर्सहरुको संख्या बढ्दो छ । यसले गर्दा मध्यमवर्गीय नेपाली परिवारमा नर्सिङ क्षेत्रमा आकर्षण बढेको छ ।

तर केही कलेज सञ्चालकहरूको व्यापारिक स्वार्थ र लापरवाहीका कारण यहाँको नर्सिङ शिक्षाको गुणस्तर माथि नै प्रश्न उब्जिन थालेको छ । सरकारले निर्धारण गरेको सामान्य मापदण्डसमेत पूरा नगर्ने नर्सिङ कलेजहरुमा सरकारले गर्ने अनुगमन समेत फितलो भएपछि ती कलेजहरुको मनोबल झनै बढेको छ ।

नर्सिङ शिक्षामा विद्यार्थी र अभिभावकहरुको बढ्दो आकर्षणसँगै कलजेहरु सेवामुखी भन्दा व्यापारमुखी बनिदिदा उनीहरुले दिने शिक्षाको गुणस्तरमै प्रश्नचिन्ह उठेको हो । आफ्नै अस्पताल भएका कतिपय नर्सिङ कलेजका समेत कक्षा कोठा, ल्याब, लाइब्रेरी मापदण्डअनुसार छैन  ।

यस्तै कुनै नर्सिङ अध्ययन गराउने कलेजको आफ्नै अस्पताल भए पनि विद्यार्थी अनुपातमा अस्पतालमा बिरामी छैनन् । ललितपुरस्थित अल्का अस्पतालद्धारा संचालित एम्स मेडिकल कलेजले पनि मापदण्ड पुरा नगरेको भेटिएको छ  । नर्सिङ परिषदको नियम अनुसार अनुसार १ जना नर्स बराबार ३ जना बिरामी हुनुपर्छ । स्वास्थ्य संकायको नर्सिङ, एचए, फार्मेसीलगायतको संकायमा प्रयोगशाला व्यवस्थित नभएको, प्रयोगात्मक गर्न प्रयोग गरिने सामान पनि पुरानो प्रविधिको र पूराना छन् ।

पूर्वाञ्चाल विश्व विद्यालयबाट सम्बन्धन प्राप्त अल्का अस्पताल जावलाखेलद्धारा सञ्चालित हात्तिबन स्थित एम्स कलेजमा अध्ययन गर्ने विद्यार्थीले प्राक्टिकल गर्न आबश्यक पूर्वाधार नै नरहेको विद्यार्थीहरुको गुनासो छ । यसबारेमा गुनासो आएपछि नर्सिङ परिषद्ले कलेजलाई यसअघि नै पत्राचार गरिसकेको जनाएको छ ।

मापदण्ड पूरा नभएकै कारण केहि समय अगाडि अल्का अस्पतालद्धारा संचालित एम्स नर्सिङ कलेजको सिट समेत घटाएको थियो । तर कलेजको अवस्था अझै नसुध्रिएको गुनासो आएपछि अब छिट्टै अल्का अस्पतालको नर्सिङ कलेजमा अनुगमन गर्ने योजनामा नर्सिङ परिषद् पुगेको छ ।

विना पूर्वाधार पढाइएका यस्ता कलेजले उत्पादन गरेको जनशक्तिबाट स्वास्थ्य क्षेत्रको भविष्य थप भयावह बन्ने सरोकारवालाहरुको चिन्ता छ । यो सर्वसाधारणको स्वास्थमाथिकै खेलवाड भएको उनीहरु बताउँछन् ।

मापदण्डअनुसारका योग्य शिक्षक, सेवासुविधा र  अस्पताल भएका कलेजमा पनि आठ विद्यार्थी बराबर एक शिक्षक, प्रसूति सेवा समेत भएको जनरल अस्पताल, एक सय शैय्याको अस्पतालमा ६० र ५० शैय्याको अस्पतालमा न्यूनतम् ३७ बिरामी हुनुपर्नेजस्ता मापदण्ड नर्सिङ कलेजले पूरा गर्नुपर्छ ।

तर नेपालमा खोलिएका अधिकांश नर्सिङ कलेजहरु सेवामुखी भन्दा व्यापारमुखी बन्ने होडबाजीमा लाग्दा विद्यार्थी,तिनका अभिभावक र उनीहरुबाट सेवा लिने विरामीहरुसम्म प्रभावित बनेका छन् । यो स्वास्थ्य क्षेत्रकै लागि गम्भीर खेलवाड भएकोले  यस्ता नर्सिङ कलेजहरुलाई अविलम्ब नियमनको दायरामा ल्याउँन ढिलाइ गर्नु हुँदैन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV