३१ जेष्ठ २०७३, सोमबार

 

tar

म्याग्दीका कृषकहरुले जिल्लामै तरबुजा खेती सफलतापूर्वक गरेका छन् । अत्याधिक गर्मी हुने ठाउँमा मात्रै हुनेगरेको तरबुजा म्याग्दीका किसानले पहिलोपटक परीक्षण उत्पादन गरेका हुन् । सोचेभन्दा राम्रो फल लाग्न थालेपछि म्याग्दीका किसानहरु हौसिएका छन् ।

बेनी नगरपालिका–१४ सुर्केमेलाका भिमबहादुर बानियाँले खेतबारीमा लगाएको तरबुजाको  परीक्षण रुपमा सफल उत्पादन गरेका हुन् । अहिले ब्यवसायिक रुपमै तरबुजा उत्पादन गरेका उनले उत्पादित तरबु्जा दैनिक रुपमै सदरमुकाम बेनी पु¥याउने गरेका छन् । करिव ३ रोपनी खेतबारीमा तरबुजा लगाएका बानियाँले  करिव ६ सय केजी तरबुजा बजारमा बिक्री गरिसकेका छन् ।

सिंगाका भगवान खड्का र नरबहादुर रोकाले पनि म्याग्दी नदी नजिकैको बगर र खेत गरी करिव ४ रोपनीमा तरबुजा लगाएका छन् । बगर, खेत र बारीमा  बेर्ना लगाएका खड्काले यसबर्ष करिव ३ सय केजी विक्री गर्ने लक्ष्य राखेका छन् । जिल्ला कृषि विकास कार्यालयबाट निःशुल्क विरुवा, मल, विषादी सहित प्राविधिक सहयोग उपलब्ध गराएपछि यसबर्ष तीनजना किसानले करिव १० रोपनीमा ब्यवसायीक तरबुजा खेती गरेका छन् ।

बगर, खोल्सा–खोल्सी र प्रयोगविहीन अवस्थामा रहेका जग्गामा समेत गर्न सकिने तरबुजाको महत्वका बारेमा कृषि विकास कार्यालयले जानकारी गराएपछि कृषकले ब्यवसायिक रुपमा खेती सुरू गरेको कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लाको सिंगा, सुर्केमेला, बावियाचौर, अर्मन, दरवाङ, रत्नेचौर, लामगराका साथै तटिय क्षेत्रमा खेती गर्न सकिन्छ ।

एकबर्ष अगाडिसम्म तराईका जिल्लाहरूबाट  भित्रिने तरबुजालाई विस्थापित गर्नेगरि यसबर्ष ३५ सय विरुवा वितरण गरिएको छ । जिल्लामा फलाएको तरबुजाको प्रतिकेजी ५० रुपैयाँमा विक्री भइरहेको छ । एउटा तरबुजा १० देखि १२ केजीसम्मको हुने कृषक भगवान खड्काले बताए ।

होटल तथा रेष्टुरेन्ट ब्यवसाय छोडेर गाउँमै कृषि पेशमा आवद्ध रहेका भगवान खड्काले परीक्षण उत्पादनलाई ग्राहकले रुचाएपछि आगामी बर्ष करिव ८ रोपनीमा तरबुजा खेती विस्तार गर्ने योजना रहेको बताए ।

तीनजना किसानले सुरू गरेको ब्यवसायीक तरबुजा खेतीले बजारमा स्थानीय उत्पादनको सकरात्मक सन्देश प्रवाह गरेको छ । तरबुजामा करिव ९२ प्रतिशतसम्म पानी हुन्छ । प्राकृतिक रुपमै चिल्लोपदार्थ नभएको फलफुलको श्रेणीमा पर्ने तरबुजा दिनहुँ खानाले मुटु, आँखा, हड्डी, मोटोपन घटाउन, छाला सहित  रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्दछ ।

आगामी बर्ष जिल्लामा करिव एकदर्जन किसानलाई तरबुजा खेती लगाउन प्रोत्साहन गर्ने गरी तालिम सहित स्थलगत भ्रमणको आयोजना गरिने कृषि कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV