३१ जेष्ठ २०७३, सोमबार

वर्षभरि अलमलमा पर्ने विकासे योजनाहरु आर्थिक वर्षको अन्तिममा बजेट फ्रिज हुन नदिनका लागि तीव्र गतिमा सञ्चालन

यतिखेर बाग्लुङमा विकास निर्माणका कामहरुले तीव्रता पाइरहेको छ । जिल्लाको कुश्मा बाग्लुङ राजमार्ग अन्तर्गतको नयाँपुल देखि मालढुङ्गासम्मको मर्मत कार्य  चलिरहेको छ । त्यस्तै जेठ महिनादेखि नै सदरमुकाम आसपासका बाटोहरु पनि धमाधम पिच हुनलागेका छन् ।

जेठ महिनादेखि वर्षातमा हुने विकासे योजनाहरुले प्राथमिकता पाएका हुन् । विशेष गरी सडकको कामले यस समयमा गति लिएको छ । दीर्घकालीन योजनाको सडक पूर्वाधारको निर्माण वर्षातको समयमा हुनुले यो बजेट फ्रिज हुन नदिने उदेश्यले  मात्र भएको पर्वत यातायात व्यवसायी समितिका महासचिव सुवर्ण अर्यालले बताए ।  यस्तो योजनाले क्षणिकरुपमा सडक राम्रो देखिए पनि त्यो टिकाउ नहुने उनको भनाइ छ ।

पछिल्लो समय सडक निर्माणमा देखिएको लापरवाहीका कारण दुर्घटना पनि बढिरहेको छ । हिउँदका दिनमा ओझेलमा पर्ने योजनाहरुले पानी पर्न शुरु गरेपछि बल्ल तीव्रता पाउँदा त्यसले झनै जोखिम बढाउने व्यवसायीहरुको दाबी छ । वर्षे विकासका कारण सडकमा हिलो थुप्रिँदा पैदलयात्री र यातायातका साधन गुडाउन समेत समस्या परेको छ । कर्मचारी र ठेकेदारको मिलेमोतोमा हुने वर्षे विकासले राहत भन्दा सास्ती बढी भएको स्थानीयको गुनासो छ ।

 

LIVE TV