३१ जेष्ठ २०७३, सोमबार

 

morcha

प्रधानमन्त्री केपी ओलीले आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेतालाई सम्बोधन गरी वार्तामा आउन आग्रह गर्दै पत्र पठाएपछि संघीय गठबन्धनमा असन्तुष्टि बढेको छ । मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरम नेपालबाहेकका दलले प्रधानमन्त्रीको पत्रलाई सकारात्मक भनेका छन् ।

पछिल्लो पत्रलाई फोरम नेपालले भने मधेसी र जनजातिबीच फुट ल्याउन सरकारले चलखेल गरेको आरोप लगाएको छ । प्रधानमन्त्री ओलीले आइतवार मधेसी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनलाई वार्तामा आउन आग्रह गर्दै पत्राचार गर्नुभएको थियो ।

संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारले मधेसी मोर्चाका नाममा पत्र पठाएर गठबन्धनलाई फुटाउन खोजेको आरोप लगाउनुभयो ।  उहाँले गठबन्धनले आन्दोलन गरेको भन्दै गठबन्धनभित्रै मधेसी मोर्चा सहभागी भएकाले सरकारले वार्ता गर्न चाहेको भए गठबन्धनको नाममा पत्र पठाउनु बताउनुभयो ।

प्रधानमन्त्रीले भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सात दलका शीर्ष नेतालाई सम्बोधन गरेर वार्तामा आउन आग्रह गर्नुभएको छ । सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीको पत्रका विषयमा दल, मोर्चा र गठबन्धनभित्र कुनै छलफल नभएको तर वार्तामा आउन गरिएको आग्रहलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुभयो । उहाले मधेसी मोर्चा र गठबन्धन एउटै भएको जिकिर गर्दै मोर्चाका नाममा पत्र आउँदा कसैलाई पनि आपत्ति हुन नहुने बताउनुभयो ।

संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चाले विगतमा ६ महिना लामो मधेस केन्द्रित आन्दोलन गरिसकेको छ । मोर्चाको माग पूरा गर्न भन्दै सरकारले संविधान संशोधन गरिसकेको छ भने मोर्चाकै सहमतिमा सीमाकंनलगायतका विवाद समाधान गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत गठन गरिसकेको छ ।

६ महिना लामो आन्दोलन गर्दासमेत सरकारले आफूहरुको माग पूरा नगरेको भन्दै मधेसी मोर्चा र विभिन्न आदिवासी जनजाति सम्बद्ध संघसंस्थाबीच कार्यगत एकता गर्दै संघीय गठबन्धन निर्माण भएको थियो । गठबन्धनले जेठदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएको छ ।

 

LIVE TV