३१ जेष्ठ २०७३, सोमबार

zz

सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्कालीन राजा ज्ञानेन्द्र, प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा लगायतलाई कारवाही माग गर्दै उजुरी परेको छ ।

नेपाली सेनाको भैरवनाथ गणबाट बेपत्ता पारिएका दमक–१ का पुष्पराज तथा धिरेन्द्र बस्नेतका परिवारले आज दर्ता गराएको उजुरीमा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा, गृहमन्त्री कमल थापा, तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल, कांग्रेस नेता रामचन्द्र पौडेललाई पनि विपक्षी बनाइएको छ ।

२०६० मंसिरमा सादा पोशाक सुरक्षाकर्मीले कालिमाटी र कलंकीबाट पक्राउ गरी उनीहरुलाई महाराजगञ्जस्थित तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गणमा लगेर यातना दिएको र त्यहीँबाट बेपत्ता पारेको उजुरीमा उल्लेख छ ।

सत्य निरुपणमा दर्ता गराएको निवेदनमा तत्कालीन प्रधानसेनापति प्याराजंग थापा, भैरवनाथ गणका तत्कालीन लेफ्टिनेन्ट कर्नेल राजु बस्नेत, मेजर विवेक विष्ट, क्याप्टेन इण्डिदवर राणा लगायत दोषी औंल्याउँदै हदैसम्मको सजाय माग गरिएको छ । सेनाले बेपत्ता पारेका पुष्पराज र धिरेन्द्र दाजुभाइ हुन् । उनीहरुका पिता भीमबहादुरले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV