
गृहमन्त्रीले एनसेलको टावरमा आक्रमण गर्नेलाई कारवाही गर्न निर्देशन दिएको केही घण्टामै माओवादीका नेताहरु पक्राउ
बेनी नगरपालिका–४ ज्यामरुकोटमा रहेको एनसेलको टावर आक्रमणमा संलग्न माओवादीका दुई जिल्ला नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा– माओवादीका नेता लालु किसान र पदम पुनलाई प्रहरीले उनीहरुकै पसलबाट नियन्त्रणमा लिएका हुन् । माओवादीको जिल्ला जनसरकारका संयोजक समेत रहेका किसानलाई विरेन्द्रचोक स्थित आफ्नै हार्डवेयर पसलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पुनलाई पनि विरेन्द्रचोकस्थित उनकै पसलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ एनसेलको टावर नजिक रहेको जेनेरेटरमा आगजनी गरिएको थियो । आइतबार दिउँसो गृहमन्त्री शक्तिबहादुर बस्नेतले पोखरामा आयोजित कार्यक्रममा एनसेलको टावरमा आक्रमण गर्नेलाई कानुनी कारवाही गर्न सम्बन्धित जिल्लालाई निदेशन दिएको केही घण्टामै माओवादीका नेताहरु पक्राउ गरिएको हो ।
न्युरोडका गोपाल पौडेललाई समान्य सोझपुछ पछि आइतवार राती छोडिएपनि पदम पुनलाई भने प्रहरी हिरासतमै राखिएको छ । बिहान माओवादी म्याग्दीका प्रभावशाली नेता मानिने किसानलाई समेत प्रहरीले नियन्त्रणमा लिएपछि माओवादीका थप नेताहरू समेत प्रहरीको निगरानीमा परेका छन् ।
देशका विभिन्न भागमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले आक्रमण गरेको दावी गरिएपनि म्याग्दीमा भने आगजनीको जिम्मेवारी कसैले लिएको छैन । राज्यलाई कर उपलब्ध नगराएको भन्दै माओवादीले पटकपटक एनसेललाई धम्की समेत दिने गरेको थियो ।
एनसेल सधैं माओवादीको निसानीमा पर्ने गरेको छ । तत्कालीन एकीकृत माओवादीबाट विभाजन भए लगत्तै बैद्य माओवादीले समेत देशका विभिन्न भागमा रहेका एनसेलको टावर ध्वस्त बनाउने चेतावनी दिएको थियो । म्याग्दी जिल्लाको भकिम्ली, कुहुँको टोड्के, देविस्थान, मराङ लगायतका क्षेत्रमा एनसेलको टावर रहेको छ ।