३१ जेष्ठ २०७३, सोमबार

जीवित देवीको रुपमा पुजिने कुमारीको रिक्त रहेको भक्तपुरमा नयाँ कुमारी चयन गरीएको छ ।

भक्तपुर नगरपालिका वडा नं ११ क्वाछेँ टोलका जिबचन्द्र बज्राचार्य र बिमला बज्राचार्यकी बर्ष ६ की छोरी जीबिका बज्राचार्यलाई एकान्त कुमारीमा चयन गरीएको हो ।

२०६७ साल कात्तिक ११ गते जन्मिएकी जीबिका बज्राचार्यलाई एकान्त कुमारीबाट पालना गर्नुपर्ने नियम, निष्ठा र सनातन परम्परालाई पालना गर्ने गरी चयन गरीएको हो ।

भक्तपुर जेसिस स्कुलमा कक्षा १ मा अध्ययनरत जीबिकालाई एकान्त कुमारी बनाउन योग्य देखिएकोले परम्परा, संस्कृति अनुसार चल्ने गरी भक्तपुरबाट टाढा जानुपरेमा पूर्ब स्वीकृति लिनुपर्ने गरी एकान्त कुमारी पदमा नियुक्ति गरीएको श्री तलेजु भवानी आगम घरका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभएको छ ।

तलेजु भवानीको प्रतिमूर्तिका रुपमा पुजिँदै आएकी एकान्त कुमारी जुनिसा शाक्यको २०७२ साल चैत्र १३ गते अवकाश लिए पछि यो स्थान खाली रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV