३० जेष्ठ २०७३, आईतवार

जनचासोका विषयमा सरकार गंभीर

pmm

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा रहेका अस्पतालका एजेन्टहरुको प्रभावमा परेर पूर्वका अस्पतालहरुले विरामीलाई भारत रेफर गर्ने प्रवृत्तिलाई छानविन गरेर कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्रीसँग सीधा कुरा श्रृङखलामा एक सर्वसाधारणले सोधेका प्रश्नको जवाफ दिदै प्रधानमन्त्रीले भारतीय अस्पतालका एजेन्टहरुलाई कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो ।

न्यूज २४ टेलिभिजनले झापाका मेडिकल माफियाबारे न्यूज प्रशारण गरेको थियो भने प्रधानमन्त्रीसँग सिधा कुरा कार्यक्रममा एक सर्वसाधारणले प्रश्न सोधेपछि प्रधानमन्त्री ओलीले छानविन गरेर कारवाही प्रक्रिया अगाडि बढाउने बताउनु भएको हो ।

झापामा जिल्ला जनस्वास्थ्य कार्यालयले त्यहाँका अस्पताल, मेडिकल सेन्टरहरुलाई प्रभावकारी अनुगमन गर्न नसक्दा भारत पु¥याउनैका लागि खोलिएका केही अवैध मेडिकल सेन्टरहरुको दवदवा चलिरहेको छ ।

मेडिकल माफियाहरुको चलखेलका कारण विरामीहरु मर्कामा परिरहेका छन् । दैनिक हजारौं विरामी उपचारका लागि भारत गइरहेका छन् भने डेढ लाख भन्दा बढी रकम विदेश पलायन भइरहेको छ ।

अनुगमनको पाटो कमजोर हुँदा माफियाहरुको मनोवल बढेको छ भने बर्षौदेखि नेपाली नागरिक मारमा परिरहेका छन् । झापा र यस आसपासको यो समस्या प्रतिनिधि समस्या हो । देशैभर कमिसनको खेलमा नागरिकको स्वस्थ्यसँग खेलबाड भइरहेको छ । र दैनिक करोडौं रुपियाँ भारत पुगेको छ ।

स्वदेशकै स्वास्थ्य संस्था सबल बनाउनुभन्दा कमिसनको खेलमा विरामीलाई विदेश रेफर गर्नु लाजमर्दो घटनालाई पनि अनुगमन गर सरकार भन्नु परिरहेको छ । त्यसैले झापा प्रशासन र जिल्ला जनस्वाथ्य कार्यालयले यस्तो हर्कतमा लागेका मेडिकल माफियाहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ । र, यसलाई प्रधानमन्त्रीले छानविन गरि कारवाही गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ । उहाँको प्रतिवद्धता पुरा हुन कति समय लाग्ने हो त्यो थाहा पाउन प्रतीक्षा गर्नुको विकल्प छैन ।

 

 

LIVE TV