३० जेष्ठ २०७३, आईतवार

सिलिण्डर विस्फोटमा थप एकको मृत्यु,खाना पकाउने ग्याँसका सिलिण्डरको परीक्षणको माग 

दैनिक भान्सामा नभई नहुने इन्धन हो ग्याँस । यो अत्यन्तै सहज इन्धन पनि हो । तर यदि यही ग्याँस गुणस्तरीय परेन वा यसको वैज्ञानिक प्रयोग हुन सकेन भने यसले ज्यान समेत लिन सक्छ ।

जेठ ७ गते हौगल ललितपुरमा ग्याँस पड्केर भएको दुर्घटनामा शनिवार राती थप एक जनाले ज्यान गुमाएपछि पीडितहरुले ग्याँस कम्पनीमा धर्ना दिँदै क्षतिपूर्ति र सिलिण्डर परीक्षणको माग गरेका छन् ।

आइतबार हात्तीसारमा रहेको एचपी ग्याँसको सम्पर्क कार्यालयमा धर्नामा बसेका ग्याँस पीडितहरु हुन् यिनीहरु । जेठ ७ गते हौगल १५, ललितपुरमा तामा र पित्तलका गजुर बनाउने ताम्राकारहरुले ग्याँस वेल्डिङ गर्नेक्रममा एचपी ग्याँस पड्केर २ जनाको ज्यान गयो । स्थानीय सुरेश ताम्राकारको घरमा काम गर्ने क्रममा ग्याँस पड्केर सुरेश ताम्राकार र ध्रुव ताम्राकारको सोही दिन मृत्यु भयो ।

घटनामा गम्भीर घाइते भएका राजेश ताम्राकारको पनि २३ दिनपछि शनिवार किर्तिपुर मोडेल अस्पतालमा मृत्यु भएपछि ताम्राकार समाजको अगुवाईमा ग्याँस कम्पनीमा धर्ना दिँदै पीडित परिवारलाई क्षतिपूर्तिको मागसहित ग्याँस कम्पनीलाई कारवाहीको माग गरेका हुन् ।

घटना भएको २४ दिन बित्दा पनि ग्याँस कम्पनीले कुनै वास्ता नगरेको र छानबिनसमेत नगरेको भन्दै एचपी ग्याँसका सबै सिलिण्डर पुनः परीक्षण गर्न पनि पीडितका आफन्तहरुले माग गरेका छन् । ग्याँस सिलिण्डर कम गुणस्तरको भएकाले दुर्घटना भएको पीडित परिवारको आरोप छ ।

शनिवार थप एक जनाको मृत्यु भएपछि आइतबार पीडित परिवार र कम्पनीबीच वार्ता भएपनि कुनै निष्कर्ष भने निस्किएन । आइतबार निस्कर्ष ननिस्केपछि सोमबार दिउँसो पुनः प्रहरी परिसर ललितपुरमा छलफल गर्ने वार्तामा मध्यस्थतता गरेका एक मानव अधिकारकर्मीले बताए ।

देशभर करिब ७५ लाख ग्याँस सिलिण्डर सञ्चालनमा छन् । नियमअनुसार १५ वर्ष पुरानो सिलिण्डर बजारबाट फिर्ता लैजानुपर्ने भएपनि अनुगमनका क्रममा २५ वर्ष पुरानो सिलिण्डर पनि सञ्चालनमा भेटिएका छन् । त्यो बाहेक कम गुणस्तरका सिलिण्डरको प्रयोग तथा उपभोक्ताको असावधानीका कारण पनि ग्याँस सिलिण्डर बिस्फोट हुँदा मानिसहरुको मृत्युसमेत हुने गरेको छ ।

 

LIVE TV