
नेकपा माओवादी केन्द्रका नेता कृष्ण केसीले पूर्वराजा ज्ञानेन्द्र शाहदेखि पाँच जना पूर्व प्रधानमन्त्रीमाथि कारवाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराउनुभएको छ ।
द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता अवस्थामा राखेका माओवादी केन्द्रका नेता केसीले आयोगमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारवाहीको माग गर्दै उजुरी दर्ता गराउनुभएको हो ।
केसीले पूर्वराजा र पूर्वप्रधानमन्त्रीहरुविरुद्ध खुलारुपमा उजुरी दर्ता गर्नु महाभारत युद्व लड्नुजस्तै भएको बताउनुभयो । उहाँले आयोगका अध्यक्ष सूर्यकिरण गुरुङसमक्ष द्वन्द्वकालका घटना निष्पक्षपूर्वक छानविन गर्न र दोषीमाथि कठोर दण्ड सजायको सिफारिस गर्न आग्रह पनि गर्नुभयो ।
२०५२ सालको फागुन महिनामा माओवादी शसस्त्र युद्ध सुरु भएदेखि २०६२ र ०६३ को जनआन्दोलन सम्मका सरकारका प्रधानमन्त्री र शाही कदममार्फत सत्ता हातमा लिएका पूर्वराजा ज्ञानेन्द्र शाह युद्धकालका प्रमुख दोषी भएको नेता केसीले आयोगका अध्यक्ष गुरुङलाई बुझाएको उजुरीमा उल्लेख छ ।
नेता केसी २०६० सालको भदौ २७ गते काठमाडौंको मनोहरा पुलबाट पक्राउ पर्नुभएको थियो । पक्राउपछि केसीलाई नेपाली सेनाले भैरवनाथ गण र काठमाडौं उपत्यकाका विभिन्न सैनिक ब्यारेक तथा गोरखाको महेन्द्र दल गणमा ८ सय १० दिनसम्म बेपत्ता अवस्थामा राखेको थियो ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालका घटनाबारे उजुरीका लागि असार २ गतेसम्मको समय दिएको छ ।