३० जेष्ठ २०७३, आईतवार

कञ्चनपुर, बेलौरी नगरपालिका– १४ भुडाका किसान टीकाराम पन्तसँग दुई बिगाहा जग्गा भए पनि उहाँले बैंकबाट ऋण पाउनसक्नु भएको छैन ।

आफ्नै स्वामित्वमा रहेको जग्गामा केराखेती गर्न उहाँले ऋणका लागि धेरै पटक बैकमा धाउनुभयो । तर हालसम्म पन्तले ऋण पाउनसक्नु भएको छैन । जग्गा सीमावर्ती क्षेत्रमा भएका कारण बैंकले ऋण लगानी गर्न नमान्दा उहाँ निराश मात्र होइन केराखेती गर्नबाट समेत वञ्चित रहनुभएको छ ।

दुई बिगाह जमिनको जग्गाधनी प्रमाणपत्र बोकेर राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक पुगेपनि ऋण नपाएको उहाँ बताउनुहुन्छ । “सीमावर्ती क्षेत्रको जग्गा भन्दै बैंकले ऋण दिन मानेन,” उहाँले भन्नुभयो । कृषि विकास बैंक बेलौरीले केन्द्रीय नियमानुसार सीमावर्ती क्षेत्रमा लगानी नगर्ने र राष्ट्रिय वाणिज्य बैंक महेन्द्रनगरले सीमावर्ती क्षेत्रमा लगानी जोखिमा पर्ने भन्दै ऋण दिन नमानेको उहाँको भनाइ छ । पन्तको व्यावसायिक केराखेती गर्ने योजना बैंकले ऋण नदिएपछि विफल भएको छ ।

भुडाकै अर्का किसान देवसिंह थापाले आफूसँग भएको डेढ बिगाहा जग्गामा व्यावसायिक रुपमा उखुखेती गर्न राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकमा ऋण माग्न गए पनि बंैकले ऋण दिन नमान्दा रित्तो हात घर फर्किनुभयो । “बैंकले दशगजामा जमिन भएको भन्दै ऋण दिन मानेन्,” उहाँले भन्नुभयो– “मालपोतबापत राजस्व बुझने तर ऋण नदिने ? ।”

बैंकबाट ऋणको व्यवस्था नभएपछि यहाँका बासिन्दा परम्परागत खेती गर्दै आएका छन् । राष्ट्रिय वाणिज्य बैंक कञ्चनपुरका शाखा प्रबन्धक हरिशचन्द्र भट्ट बैंंकले सुरक्षित क्षेत्रमा मात्रै कर्जा दिने गरेको बताउनुहुन्छ । बैंकले लगानी जोखिमापर्ने खोलानाला, नदी क्षेत्रको जमिन र सीमावर्ती क्षेत्रको जग्गामा लगानी नगरेको उहाँको भनाइ छ ।

जिल्लाको ब्रम्हदेव, दोधारा, चाँदनी, रौतेली बिचुवा, बेल्डाँडी, बेलौरी, पुनर्वासका सीमा क्षेत्रका बासिन्दा बैंकको ऋण सुविधाबाट बञ्चित हुँदैआएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV