२९ जेष्ठ २०७३, शनिबार

maya

हलो जोतेर लमजुङमा मात्रै नभई मुलुकमै चर्चा कमाएकाहरु अब यो मुलुकबाटै विदा भइसकेका छन् । हलोक्रान्ति गरेर बाहुनले पनि गोरु जोत्न हुन्छ भन्दै मुलुकभरी सन्देश फैलाएका तिनै अभियन्ताहरुलाई न राज्यले नै केही गर्न सक्यो न कुनै जिल्लाबाट केही सहयोग नै मिल्यो । बाचुन्जेल उनीहरुले केवल पिडाको जीवन मात्रै ज्युनु पर्यो ।

२००६ साल साउन ११ गते पहिलोपटक हलो जोत्ने २७ जना ब्राम्हणमध्ये मायानाथ पौडेल मात्रै जिवित थिए तर उनले पनि आत्महत्या गरेपछि यतिबेला हलोक्रान्तिको चर्चित स्थान दुराडाँडा शोकमग्न अवस्थामा छ ।

उनी एक्लो जीवन बिताउन बाध्य थिए । दुराडाँडा–६ अर्चल्यानी निवासी ८६ बर्षिया पौडेलले शुक्रबार दिउँसो २ बजेतिर आफ्नै घरको पालीमा झुण्डिएर आत्महत्या गरेपछि हलोक्रान्तिको संरक्षणमा जुटेका मात्रै होइन सारा गाउँबासी नै शोकमग्न भएका छन् ।

बृद्ध अबस्थामा एक्लै परेका उनी मानसिक तनावकै कारण आत्महत्या गरेको स्थानीय बताउँछन । पौडेलका छोरा नारायणको पनि २ बर्ष अघि नै निधन भएको थियो । छोराको निधनपछि बुहारी र दुृईवटा नाती चितवनमा बस्दै आएका थिए । पौडेलका भतिज सन्तोष पौडेलले तनावकै कारण उहाँले आत्महत्या गरेको हुनसक्ने बताउनुभयो ।

देशमा प्रजातन्त्रको उदय हुनुअघि विक्रम सम्बत २००६ साल साउन ११ गते मायानाथ पौडेल लगायत २७ जना ब्राम्हणहरुले पहिलो पटक नेपालमै हलो जोतेर क्रान्ति गरेका थिए ।

बाहुनहरुले पहिलोपटक हलो जोतेको स्मरणमा लमजुङको दुराडाँडाको अर्चल्यानीमा पण्डित तोयानाथ अधिकारी स्मृति प्रतिष्ठानले बर्षेनी स्मरणको कार्यक्रम गर्दै आएको छ । त्यतिबेला बाहुनले हलो जोतेको एकवर्षसम्म हल्ला–खल्ला मच्चिएको थियो । अहिले हलो क्रान्तिका अभियन्ताको आत्महत्याले हल्लीखल्ली मच्चिएको छ ।

 

 

LIVE TV