
शक्ति प्रदर्शनका लागि पहिलोपटक जनमैत्री जुलुश निकालिदैं, सडकपेटीबाट जुलुसका सहभागी हिड्ने
पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपालले भोलि एक समारोहबीच दशरथ रङ्गशालामा औपचारिक रूपमा पार्टी घोषणा गर्नेभएको छ । आइतबार खुल्लासत्र सञ्चालन हुनेछ भने सोमबार र मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चल्ने बताइएको छ ।
नयाँ शक्ति नेपालको बन्दसत्रले पार्टीका थप पदाधिकारीको समेत टुङ्गो लगाउने छ । पार्टी घोषणका लागि नेता देवेन्द्र पौडेलको नेतृत्वमा मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति गठन गरिएको छ । घोषणा समारोहमा ७५ जिल्लाबाटै प्रतिनिधिले सहभागिता जनाउने र विदेशबाट समेत प्रतिनिधि आउने संयोजक बाबुराम भट्टराईले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी ओलीसहित नेपालका क्रियाशील सबै दल, नेपालस्थित २५ देशका राजदूतलाई समेत निम्तो गरिएको नयाँ शक्ति पार्टीले जनाएको छ । घोषणा सभामा शुभकामना दिन भारतीय नेता केसी त्यागी, डिपी त्रिपाठी, वामपन्थी पत्रकार आनन्दस्वरुप वर्मालगायत काठमाडौँ आइपुगेको देवकोटाले जानकारी दिनुभयो ।
कुपोन्डोल, बबरमहल, कालिमाटी र रत्नपार्कबाट सुरु हुने जुलुस अपराह्न १२ बजेभित्र रङ्गाशालामा प्रवेश गरिसक्नेछन् । जुलुसका कारण ट्राफिक व्यवस्थापनमा कठिनाइ नहोस भनी पैदलमार्गको बाटोबाट जुलुस सञ्चालन गरिने प्रवक्ता देवकोटाले बताउनुभयो ।
यसैबीच, एमएस थापाको नेतृत्वमा रहेको संघीय जनमुक्ति पार्टी नयाँ शक्तिमा विलय भएको छ । जनमुक्ति पार्टीबाट विभाजित भई गठन भएको संघीय जनमुक्ति पार्टीले डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा विलय भएको हो । ललितपुरमा भएको कार्यक्रममा संघीय जनमुक्तिका पार्टीका अध्यक्ष एमएस थापामगरले पार्टीको पाँचौं महाधिवशेनले नयाँ शक्तिमा विलय हुने निर्णय गरेको जानकारी दिनुभयो ।