तिलोत्तमा (रुपन्देही), स्वास्थ्य मन्त्री रामजनम चौधरीले बिरामीलाई मुस्कानसहितको सेवा प्रदान गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।
हालै मन्त्रिपरिषद्को बैठकले स्तरवृद्धिको निर्णय गरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलको आज निरीक्षण गर्दै मन्त्री चौधरीले बिरामीलाई स्वास्थ्यकर्मीले झर्केर बोल्ने, हेप्ने जस्ता गुनासा सरकारी अस्पतालमा उपचार गराउनेबाट आएको भन्दै अब मिठो मुस्कानसहितको सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, “बिरामीसँग मिठो वोलेर, राम्रो व्यवहार गरेर काम गर्दा रोग केही प्रतिशत निको हुन्छ, स्वास्थ्यकर्मीप्रति थप सकारात्मक सन्देश जान्छ ।”
मन्त्री चौधरीले लुम्बिनी अञ्चल अस्पतालको भौतिक पूर्वाधार निर्माणको कामसमेत चालु आर्थिक वर्षमा नै सुरु गर्ने तयारी भएको बताउनुभयो ।
उहाँले कर्मचारी सुबिधाभोगी भएकाले काठमाडौँ पहिला, त्यसपछि चितवन, पोखरा बस्न खोज्ने तर ग्रामीण क्षेत्रमा जान नचाहँदा समस्या भएको बताउनुभयो ।
लामो समयदेखि स्तरवृद्धिको माग गर्दै आएको लुम्बिनी अञ्चल अस्पताल बुटवललाई यही जेठ ७ गते बसेको मन्त्रिपरिषदको बैठकले स्तरवृद्धिको निर्णयसहित तीनसय शैय्यामा स्तरवृद्धि गरेको थियो ।
विसं १९६७ फागुन १५ गते स्थापना भएको लुम्बिनी अञ्चल अस्पतालमा यसअघि आइसियु, पुनस्थापना केन्द्र समेत गरी १५१ शैय्या सञ्चालनमा छन् । रासस