२९ जेष्ठ २०७३, शनिबार

नेपाली सेनाले विष्फोटको जोखिममा रहेको सोलुखुम्बुस्थित दोस्रो ठूलो इम्जा हिमतालको पानीको सतह घटाउने कार्य सुरु गरेको छ । हिमतालको पानी घटाउन अत्याधुनिक उपकरणसहितको सैनिक टोली इम्जामा खटिएको हो ।

विश्व तापक्रम बढेसंगै जलवायुमा आएको परिवर्तनले गर्दा हरेक वर्ष हिउँ पग्लिरहेको छ । नयाँ–नयाँ ताल बन्ने र पुराना तालमा पानीको मात्रा बढ्ने क्रम जारी छ । यसले गर्दा हिमतालको आकार हरेक वर्ष बढिरहेको छ । तालको गहिराइ र पानीको सतह बढेर फुट्ने सम्भावना भएपछि त्यसको पानी बाहिर निकाल्ने प्रयास भइरहेको हो ।

वैशाख १ गतेबाट हिमतालको पानीको सतह घटाउने कार्य सुरु गरेको नेपाली सेनाले पुसको मध्य अर्थात २०१६ को डिसेम्बरसम्ममा काम सक्ने योजना रहेको नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले बताउनुभयो ।

सेनाका अनुसार इम्जा हिमताल १ सय २८ स्क्वायर किलोमिटरमा फैलिएको छ । दुई किलोमिटर लम्बाइ र औसत ४ सय मिटर चौडाइ रहेको तालको गहिराइ १ सय ८० मिटर छ । तालमा ८ करोड घनमिटर पानी रहेको अध्ययनले देखाएको छ । ताल विष्फोट भए इम्जाभन्दा तलका बस्ती चुकुम, टेङ्बोचे, कोसी बेल्ट हुँदै इनरुवासम्मका ५६ हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

यही जोमिख घटाउन सेनाले हिमतालको पानी कुलो बनाई बाहिर फ्याँक्न लागेको हो । अहिले सेनाको ३१ र स्थानिय ६५ गरी कूल ९६ जना हिमतालमा रहेको पानीको सतह ३ मिटर घटाउने कार्यमा खटिएका छन् ।

समुद्री सतहबाट ५ हजार १० मिटर अग्लो स्थानमा रहेको इम्जा हिमतालमा केही वर्षयता पानी सतह बढ्दै गएको छ । पानी थपिँदै जाँदा हिमताल विस्फोट हुने खतरा बढेपछि २०७२ फागुन ४ गतेको मन्त्रिपरिषद बैठकले तालबाट पानी सतह घटाउने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सेनाले अहिले कार्य थालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV