२९ जेष्ठ २०७३, शनिबार

राष्ट्रिय एकता र अखण्डता वर्तमान संविधानले सर्वोपरि राखेको छ,संविधान जारी भएपछि ६ हजारभन्दा बढी भारतबाट आएका महिलालाई नागरिकता 

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जायज मागलाई  सम्बोधन गर्न सरकार तयार रहेको बताउनु भएको छ ।

संविधानमा सबैलाई बरावरी हक र अधिकार दिइएको दावी गर्दै उहाँले सरकार जनताको भएकोले जायज माग सम्बोधन गर्न तयार रहेको बताउनुभएको हो ।

विराटनगर वडा नं. ५ खारजीमा निर्माण हुन लागेको तारिणीप्रसाद कोइराला स्मृती सञ्चार ग्रामको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले संविधानले गरेको विभेदबारे अमुर्त होइन मुर्त कुरा लिएर आउन आन्दोलनरत दलहरुलाई आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय एकता र अखण्डता वर्तमान संविधानले सर्वोपरि राखेको प्रष्ट पार्नुभयो ।

संविधान जारी भएपछि ६ हजारभन्दा बढी भारतबाट बिवाह भएर आएका महिलाले नागरिकता पाई सकेको अबस्थामा पनि बिरोधका नाममा मात्र बिरोध हुनु ठिक नभएको उहाँको भनाई छ ।

भारतमा सवा सय पटक संविधान संशोधन गरी सकेको दृष्टान्त प्रस्तुत गर्दै यदी कुनै संविधान संशोधन गर्ने ठाउँ छ भने आफू गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

रेडियो नेपाल र विराटनगर उपमहानगरपालिकाको संयुक्त साझेदारीमा करिब ८ करोड रुपैया लागतमा निर्माण हुन लागेको तारिणीप्रसाद कोइराला संचार ग्राम मोफलसको पहिलो आधुनिक र सुविधा सम्पन्न संचार ग्राम हुने बताइएको छ । सञ्चार ग्रामको १८ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

 

LIVE TV