२९ जेष्ठ २०७३, शनिबार

bidhya-bhandari

काठमाडौँ, फोब्र्सको यस बर्षकोे मूल्याङ्कनमा पहिलो पटक नेपालले पनि स्थान पाएको छ ।

दक्षिण एसियाली राष्ट्र नेपालको पहिलो महिला राष्ट्रपति र गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा पर्न सफल हुनु भएको छ ।

पुरुषको तुलनामा सदैव महिला पछाडी परिरहेको मानिने यस देशमा राष्ट्रपति जस्तो गरिमामय पदमा एकजना सफल महिला पुगी विश्व विख्यात हुनुभएको छ नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी ।

कम्युनिष्ट नेतृ विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपतिका रुपमा सन् २०१५ को अक्टोबरमा निर्वाचित हुनु भएको थियो ।

आर्थिक, सामाजिक एवम् राजनीतिक रुपमा समेत महिला पछि परिरहेको नेपालजस्तो तेस्रो विश्वको देशमा समेत एकजना महिला राष्ट्र्प्रमुख र पहिलो सर्बोच्च पदाधिकारीका रुपमा निर्वाचित हुनुलाई संसारका कतिपय देशका सञ्चारमाध्यमले अनुकरणीय उदाहरणका रुपमा लिई आफ्ना समाचारका प्रमुख विषय वस्तु बनाउँदै प्रस्तुत गरेका थिए ।

विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले हालै विश्वका प्रख्यात एवम् शक्तिशाली एक सय जना महिलाको सूची प्रकाशन गरेको छ र यस सूचीको संसारमा नै यतिखेर निकै चर्चा पनि भइरहेको छ ।

यस पटक यो चर्चा नेपालमा पनि छाएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको नाम पनि यस सूचीमा समेटिएकोले यस सूचीको बारेमा नेपालमा पनि यतिखेर चर्चा हुन पुगेको हो । आ आफ्ना क्षेत्र वा व्यवसायमा महिलाको शक्ति, प्रभाव र सफलताका आधारमा यस पत्रिकाले ती महिलाको छनौट गर्ने गर्दछ ।

फोब्र्सको मूल्याङ्कनमा जर्मनीकी चान्सलर एन्जेला मार्केल यस पटक पनि पहिलो स्थानमा रहन सफल हुनु भएको छ । उहाँ फोब्र्सको मूल्याङ्कनमा लगातार तीन वर्षयता प्रथम स्थानमा रहँदै आउनु भएको छ । विगत ११ वर्षदेखि जर्मनी तथा युरोपका केही राष्ट्रलाई समेत प्रत्यक्ष वा परोक्ष रुपमा प्रभावकारी नेतृत्व दिन सफल महिला नेतृ एन्जेला मार्केलले यस वर्ष पनि गत वर्षहरुको आर्जित ख्याती कायमै राख्नु भएको छ । फोब्र्सको मूल्याङ्कनमा प्रभावकारी महिला नेतृको पहिचानलाई निरन्तरता दिन सफल जर्मन चान्सलर एन्जेला मार्केल यस वर्षको पनि सबैभन्दा प्रभावशाली ‘सेलिब्रेटी’ मा परेको उल्लेख सो पत्रिकामा गरिएको छ ।

ओरालो लागेको युरोपेली अर्थतन्त्रलाई आश्चर्यजनक ढङ्गबाट माथि उकास्न सफल एन्जेला बहूसंख्यक युरोपेली नागरिकबीच अत्यन्तै लोकप्रिय हुनुहुन्छ । विश्वका शक्तिशाली देशहरु लगायत इराक र सिरियामा भीषण आतङ्क मच्चाउँदै आएका इस्लामिक स्टेट (आइएस) आतङ्ककारी विरुद्ध उहाँले चालेको कदम पनि प्रशंसनीय रहेको छ । यस हिसाबबाट उहाँलाई यस पटक पनि विश्वका चर्चित एवम् शक्तिशाली महिलाको सूचीमा समावेश गरिएको स्पष्टिकरण त्यस पत्रिकाको छ ।

अमेरिकी पूर्वविदेशमन्त्री तथा हाल राष्ट्रपति पदको प्रवल उम्मेदवार हिलारी रोधम क्लिन्टनलाई फोब्र्सले दोस्रो स्थानमा राखेको छ । विश्वका शक्ति राष्ट्रहरुमध्ये पहिलो दर्जामा सदा सर्वदा कायम रहेको र विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्तराज्य अमेरिकामा यसै बर्षको अन्त्यतिर हुनलागेको राष्ट्रपतीय निर्वाचनमा हिलारीलाई प्रमुख दावेदारको रुपमा हेर्न थालिएकाले पनि उहाँ चर्चाको शिखरमा पुग्न सफल हुनुभएको छ ।

संयुक्त राज्य अमेरिकाको ४२ औँ राष्ट्रपति बिल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्न सक्ने महिलाको रुपमा पनि परिचित हुनुहुन्छ । यसै बर्षको नोभेम्बरमा अमेरिकाको ४५ औँ राष्ट्रपति पदको निर्वाचन हुन गइरहेको छ । यस पटक निर्वाचनको प्रतिस्पर्धामा सशक्त उम्मेदबार एक जना महिला नेतृ पनि रहेकोले अहिलेको अमेरिकामा यो नयाँ विषयले चर्चा पाएको हो ।

त्यसैगरी तेस्रो स्थानमा पर्न सफल हुनु भएको छ संयुक्त राज्य अमेरिकाकै ज्यानेट येलेन । अमेरिकी संघीय कोष (फेडरल रिजर्भ) की अध्यक्ष येलेनको अथक प्रयासले अमेरिकामा डलरको मुद्रास्फिति दर घटाउन र रोजगारी बढाउन ओबामा सरकारलाई भारी मात्रामा सहयोग पुगेको तथ्य यसअघि पनि सार्वजनिक भएको हो । उहाँले फेडरल रिजर्भको अध्यक्ष पद सम्हालेको केही समयमै सन् २०१५ भित्रै अमेरिकाको आर्थिक ब्याजदर बढाउने भविष्यवाणी गर्नु भएको थियो ।

नभन्दै उहाँकै अविरल प्रयास र उत्कृष्ट कार्यकुशलताबाट भविष्यवाणी सिद्ध पनि भयो । अर्थतन्त्र सम्बन्धि बैज्ञानिक वा अर्थशास्त्री उत्पादन गर्ने सुप्रसिद्ध पाठशाला येल एण्ड ब्राउनका दिक्षितहरुलाई समेत बिर्साउने गरी अमेरिकाको समग्र अर्थतन्त्र उकालो लाग्यो । बिगतको कम्तीमा पनि एक दशकदेखि अमेरिकी अर्थतन्त्रले ब्यहोर्दै आएको ब्याजदरको अस्थिरता अन्त्य भै गतवर्षको डिसेम्बरदेखि सन् २००६ यताकै पहिलो पटक ब्याजदरमा नाटकीय बृद्धि भयो ।

त्यस्तै, कम्प्युटर तथा साइबर जगतमा संसारभर ख्याति आर्जन गर्न निरन्तर सफल अमेरिकी माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी धर्मपत्नी र सहचारी मिलिन्डा गेट्स फोब्र्सको मूल्याङ्कनमा यस बर्षको विश्वको प्रभावशाली महिलामध्ये चौथो स्थानमा पर्न सफल हुनु भएको छ । विश्वका कृषक र महिला उत्थान तथा लैंगिक विकासका लागि उहाँको विशेष योगदान रहँदै आएको छ । उहाँको यस योगदानको विश्वव्यापीरुपमा चर्चा भै गरेको छ ।

सन् २००० मा बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशन नामक एक संस्थाको स्थापना भएको थियो । स्थापनाकालदेखि हालसम्म यस संस्थाले विश्वविकासका लागि ३३ अरब अमेरिकी डलर बराबरको रकम खर्च वा लगानी गरिसकेको छ । मिलिन्डा गेट्स स्वयम् खटिएर अथक परिश्रम गरेकै कारण बहूउपयोगी क्षेत्रमा संस्थाको लगानी भएको र विश्वका बहूसंख्यक जनताले उपलब्धि हासील भएको अनुभव गर्न पाएकाले यसको प्रमुख श्रेय वा जस मिलिन्डालाई नै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV