२९ जेष्ठ २०७३, शनिबार

युरो कप २०१६ मा आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ । राजधानी पेरिसको स्टेड डी फ्रान्समा शुक्रबार राति भएको उद्घाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ ले हराको हो ।

फ्रान्सको जितमा दिमित्री पेयटले अन्तिम समयमा गरेको सुन्दर गोल महत्वपूर्ण बनेको थियो । रोमानिया भन्दा बलियो टिम भएपनि फ्रान्स पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । ५७ औं मिनेटमा ओलिभर जिरउडले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए । त्यसको ८ मिनेटपछि नै रोनामियाले पेनाल्टीको अवसर पायो । यो अवसरलाई सदुपयोग गर्दै बोग्डान स्टानकुले रोमानियाका लागि बराबरी गोल फर्काए ।

१–१ को बराबरी भएको अवस्थामा ८९ औं मिनेटमा वेष्ट ह्यामका पेयटले फ्रान्सका लागि ३० यार्डबाट बल प्रहार गर्दै सुन्दर विजयी गोल गरे । गएको नोभेम्बरमा एक सय ३० जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमण भएकै रंगशाला स्टेड डी फ्रान्समा भएको खेलमा पेयटले घरेलु समर्थकलाई अन्तिममा ठूलो खुसी प्रदान गरे । त्यसअघि एन्टोनी ग्रिजम्यानले गरेको हेडर गोल हुन सकेको थिएन ।

रोमानियाले पनि गोल गर्ने केही राम्रा मौका बनाएको थियो । फ्रान्सले घरेलु मैदानमा भएका प्रतियोगितमा उपाधि आफ्नो पक्षमा पारेको विगतको इतिहास छ । सन् १९८४ को युरो तथा १९९८ को विश्व कप फुटबल आयोजना गरेका फ्रान्सले उपाधि जितेको थियो । यसपटक पनि आयोजक राष्ट्र भएकाले युरोकपको उपाधि बलियो दाबेदारमा फ्रान्सलाई पनि हो । यसको सुरुवात उसले जितका साथ गरेको छ । खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV