२८ जेष्ठ २०७३, शुक्रबार

dahal

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताउनुभएको छ ।

प्रेस सेन्टर सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष दाहालले संविधान कार्यान्वयन गर्न, मधेसी, थारु, आदिवासी जनजातिले उठाउँदै आएको मुद्धालाई सम्बोधन गर्न तथा पुननिर्माणको लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको बताउनुभयो ।

माओवादी पार्टीको चाहाना एउटा सरकार गिराएर अर्को बनाउने नभई अहिले देखिएका समस्या समाधानको लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्छ भन्ने रहेको माओवादी केन्द्रका अध्यक्ष दाहालको भनाई थियो ।

उहाँले प्रधानमन्त्री केपी ओलीकै नेतृत्व सहमति हुन्छ भनेपनि माओवादीलाई आपत्ति नभएको बताउनुभयो । स्थानीय, प्रादेशिक र संघीय निर्वाचन भएर नयाँ प्रतिनिधि सभा नआउँदासम्म प्रमुख दलहरुबीच एकता आवश्यक उहाँले बताउनुभयो ।

मधेसवादी दलले उठाउँदै आएको  मागप्रति लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले संविधान पुर्नलेखन सम्भव नभएको बताउनुभयो । स्थानीय निर्वाचनको सन्दर्भमा दाहालले सरकारले राम्रो तयारी नगरी निर्वाचनको घोषणा गर्न नहुने बताउनुभयो ।

माओवादी केन्द्रको छठौं प्रदेशस्तरीय एकता भेलालाई प्रशिक्षण दिनको लागि दाहालसंगै नारायकाजी श्रेष्ठ, रामबहादुर थापा, मात्रिका यादव, मणि थापालगायतका नेताहरु सुर्खेत पुगेका छन् ।

LIVE TV