२८ जेष्ठ २०७३, शुक्रबार

डिजिटल प्रविधिसंगै नेपाली चलचित्रहरु पाइरेसी हुने क्रम बढ्यो, प्रतिलिपी अधिकार कानून कडा नबनाए चलचित्र क्षेत्र धरासायी हुने

यतिखेर नेपाली चलचित्रको क्रेज बढ्दो छ । कुनै समय नेपाली चलचित्रको नाम सुन्दा पनि नाक खुम्च्याउँने दर्शकहरु अहिले नेपाली चलचित्रका नियमित दर्शक मात्र होइन खाँटी प्रशंसक समेत बनेका छन् ।

दर्शकको अभावमा एकपछि अर्को चलचित्रहरु असफल भएपछि चलचित्र विकास बोर्ड समेत चलचित्र क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारीमा पुगेकै बेला तिलस्मी रुपमा विस्तार भएको नेपाली चलचित्रको बजार फेरि सम्भावित संकटको घेरामा पर्न थालेको छ । पछिल्लो समयमा भित्रिएको डिजिटल प्रविधिको व्यापकतासँगै नयाँ नयाँ नेपाली चलचित्रहरु पाईरेसी हुने क्रम बढेपछि चलचित्र क्षेत्र धरासायी हुने खतरा बढेको हो ।

नेपाली चलचित्रको बढ्दो क्रेज र बजारसँगै राम्रा र चलेका चलचित्रहरु धमाधम पाइरेसी हुने क्रम दिनदिनै बढ्दै गएको छ । पछिल्लो समय सर्वाधिक सफलता कमाउन सफल चलचित्रहरु ड्रिम्स, पशुपतिप्रसाद र प्रेमगीत चोरी भएपछि नेपाली चलचित्र क्षेत्र फेरि तरंगित भएको हो । देश तथा विदेशमा चलचित्रको माग भइरहेको अवस्थामै यी चलचित्रहरु यूटयुब लगायतका डिजिटल ड्राईभबाट आउट भएको हो ।

स्थिति कतिसम्म जटिल रहेको छ भने पशुपतिप्रसाद र प्रेमगीत सञ्चार मन्त्रालय माताहतको जिम्मेवार निकाय सेन्सर बोर्डबाटै लिक भएको थियो । लिक भएका चलचित्रको प्रतिमै सेन्सर प्रति भन्ने पानी छाप स्पष्ट दख्न सकिन्छ । यस्तै अर्को चलचित्र ड्रिम्स भने प्रतिलिपी अधिकार दिएको संस्थाका सदस्यबाटै चोरी गरिएको थियो । स्वदेश र विदेशमा चरम माग भैरहेकै बेला पूरै चलचित्र लिक भए पछि ड्रिम्सका निर्माता एवम् निर्देशक भुवन केसीले आफूलाई झण्डै एक करोड रुपैयाँको क्षति भएको दाबी गरेका छन् । त्यसैले उनले क्षतिपूर्तिको माग गर्दै पाइरेसी गर्नेहरुविरुद्ध स्ष्ट कीटानी सहित प्रहरीलाई गुहारेका थिए ।

अन्ततः प्रहरीको अनुसन्धानमा दोषी पाइएकाहरुबाट भुवनले २५ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । यो पाइरेसी गर्नेहरुबाट भराइएको पहिलो ठूलो जरिवाना हो । तर यसबाट निर्माता,निर्देशक भुवन भने सन्तुष्ट छैनन् । बढ्दै गएको पाईरेसी रोक्न नेपालको विद्यमान प्रतिलिपी अधिकारको कानून नै अपुग रहेको उहाँको भनाइ छ ।

यस अघि पनि सफल मानिएका चलचित्रहरु कोहिनुर, झोला, ६ एकान ६ पनि युट्युबबाट बाहिरिएका थिए । यसरी फिल्महरु चोरी भई बाहिरिदा समेत सम्बन्धित निकाय बेखबर छन् । फिल्मको पाईरेसी रोक्न स्वयम् चलचित्रकर्मी समेत उदासीन रहेको निर्माता प्रदिप उदय बताउँनुहुन्छ ।

अर्काको सिर्जना विना अनुमति सार्नु र हेर्नु घरमा डाँका मार्नु सरह नै हो । तर यसप्रति सर्वसाधारणमा चेतनाको कमि र दोषीलाई कडा कारवाही गर्न कानूनको अभाव हुँदा नेपालमा पाइरेसी गर्ने प्रवृत्ति घट्नुको साटो अझ बढ्दो छ । यसबाट लगानीकर्ताको लगाननी डुबानमा पर्ने मात्र होइन प्रतिभा पलायनको खतरा पनि रहन्छ ।

त्यसैले यसतर्फ बेलैमा सरकार र सम्बन्धित निकायले होसियारी अपनाउनु जरुरी छ । त्यो भन्दा पहिले आफूले किनेको,हरेको र पढेको सिर्जना वैधानिक हो कि होइन भन्ने हेक्का सबैलाई राख्न जरुरी छ । किनभने स्रष्टा बाँचे मात्र अरु सिर्जनाको अपेक्षा गर्नु जायज हुन्छ ।

 

LIVE TV