२८ जेष्ठ २०७३, शुक्रबार

टिमुर मसला र औषधीमा प्रयोग हुने सुगन्धित जडिबुटीजन्य फल हो । उच्च पहाडी क्षेत्रमा पाइने टिमुर विगत २०–२२ वर्ष यता ग्रामीण क्षेत्रका मानिसको जीवन धान्ने वुटी वनेको छ । कम काम लाग्ने र संकलनमा हुने दुःखले अपहेलित वालीका रुपमा लिने गरे पनि पछिल्लो समय सरकारी अनुदान पाए पछि टिमुर खेती प्रति सुर्खेतका किसानको आकर्षण बढ्दै गएको छ ।

सरकारले जडीवुटीहरुको अनुसन्धान, विकास तथा खेती प्रविधि कार्यका लागि टिमुरलाई प्राथमिकताको सुचीमा राखे पछि टिमुर खेती तर्फ सुर्खेतका किसानको आकर्षण बढेको हो । सुर्खेत, अछाम, सल्यान र जाजरकोटमा नेपालकै उत्कृष्ट टिमुर पाइन्छ ।

टिमुर संकलन र त्यस पछिका क्रियाकलापमा ध्यान दिन थाले पछि टिमुर किसानको जीवन शैलीमा परिवर्तन आएको छ । अपहेलित बालीका रुपमा लिइने टिमुरले अहिले घर परिवारको आम्दानीसँग महिलाहरुको पहुँच बढाएको छ । टिमुरबाट हुने आम्दानीले महिलाहरुको सामाजिक हैसियतमा सुधार ल्याएको छ ।

स्थानीय घरेलु औजार र प्रविधिको प्रयोग गरी पुरै फल टिपी उत्पादन पनि बढेको छ । यस्तो तरिकाले टिमुर संकलन सहज र छोटो समयमा धेरै संकलन हुने गरेको छ ।

कृषि विकास मन्त्रालयको उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले पश्चिम क्षेत्रको गरिवीपन हटाउने उद्देश्यले समुह सहकारी मार्फत टिमुर खेती गर्दै आएका किसानलाइ सहयोग गरेको छ । आयोजनाले यस क्षेत्रका करिव २ हजार घरपरिवार किसानलाई टिमुर मुल्य श्रृंखलामा समेटेको छ । आयोजना लागु भए पछि यस क्षेत्रको टिमुर डाँवर नेपाल र फ्रान्सको मान फिल्स कम्पनीले लिने गरेको छ ।

आयोजना डावर नेपाल,  भैरम सामुदायिक वन उपभोक्ता समुह, वीरेन्द्रनगरसँगको त्रीपक्षिय सम्झौता भइ आधुनिक हरितगृह टिमुर नर्सरीको निर्माण गरिएको छ । नर्सरीको बिद्दमान क्षमता अनुसार प्रतिबर्ष ५० हजारको हाराहारीमा टिमुरको बेर्नाहरु उत्पादन गरी यस क्षेत्रका किसानलाई उपलब्ध गराउदै आएको एचभीएपी सुर्खेतका गिरीधर अमात्यले बताउनुभयो ।

स्थानीयको अनुकुलनतामा छनौट गरेको टिमुर मुल्य श्रंखलाले ग्रामिण क्षेत्रको किसानको जीवनस्तर सुधारमा ठुलो प्रभाव पारेको छ । घरेलु बजारमा सिमित टिमुर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारसँग समन्वय गरी ग्रामिण क्षेत्रका महिला, पिछडिएको वर्ग र विपन्न समुदायलाई टिमुर खेतीबाट आत्मनिर्भर गराउन आयोजना प्रभावकारी हुनेछ ।

 

LIVE TV