२८ जेष्ठ २०७३, शुक्रबार

पोखरादेखि सवैभन्दा नजिकैको ‘भर्जिन गन्तव्य’ पञ्चासे धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटकीय र जैविक विविधताको अनौठो र चोखो केन्द्र हो । तर, अझै पनि पर्याप्त प्रचारमा आउन सकेको छैन । चारैतिर हरिया वनजंगलले घेरेको पञ्चासे हिजोआज जैविक विविधताको महत्वपूर्ण गन्तब्य पनि बन्दै गएको छ ।

पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने २ हजार ५ सय १७ मिटरको उचाइमा रहेको पञ्चासे लेकको जैविक विविधता संरक्षणमा विभिन्न संघ संस्था र स्थानीयवासी लागि परेका छन् ।

धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित पञ्चासेको जैविक विविधतालाई संरक्षण गरी पर्यटकीयस्थल सँगै अन्य विविध क्षेत्रमा धनी बनाउने उद्देश्यले संरक्षणमा जुटिएको हो । पछिल्लो समयमा माछापुच्छ«े विकास संघ, पञ्चासे क्षेत्र विकास समिति, नेपाल पञ्चधाम पञ्चासे, पञ्चासे परिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन (इविए) कार्यक्रमलगायत पञ्चासेको संरक्षणमा जुटेका हुन् ।

तीन जिल्लाको संगम मानिएको पञ्चासे क्षेत्रमा लमजुङस्थित भु–संरक्षण कार्यालयले जिल्लाका राजनैतिक दल, सरकारी कार्यालयका प्रमुख तथा अन्य सरोकारवाला निकायहरुलाई भ्रमण गराएको छ ।

लमजुङमा पनि पञ्चासेमा गरिएको कार्यक्रम गर्न सकिने भन्दै भ्रमणको आयोजना गरिएको परिस्थितिकीय प्रणालीमा आधारित अनुकुलन (इविए) कार्यक्रमका हिमलाल श्रेष्ठले जानकारी दिनुभयो ।

पञ्चासेको विकासमा लागि परेको इबिएका अनुसार कास्कीको भदौरे, स्याङजाको बाङसिंग, पर्वतको चित्रे र आर्थर डाँडाखर्क गाविसका बासिन्दाको आयआर्जनमा समेत परिवर्तन आएको छ । भ्रमणमा रहेको टोलीले  पञ्चासेमा आउने पर्यटकलाई लक्षित गरेर सञ्चालन गरेको घरबास सेवासँगै अन्य विभिन्न आयआर्जनका क्रियाकलापको अवलोकन समेत गरेका थिए ।

सोही क्रममा भदौरे तामागी गाविसस्थित भदौरे गुरुङ सामुदायिक होमस्टे, सिधाने गाउँमा सञ्चालित सिध्ने होमस्टे तथा भञ्ज्याङ होमस्टेको अवलोकन गरिएको थियो । विभिन्न वन, वातावरण, पर्यटनलगायतका सरोकारवालाको सहभागितामा सञ्चालित उक्त अवलोकन तथा अन्तरक्रियामा सहभागीलाई होमस्टे सञ्चालकले गाउँमा उत्पादित विभिन्न परिकारले स्वागत गरेका थिए ।

 

 

LIVE TV