२८ जेष्ठ २०७३, शुक्रबार

धुन्चे रसुवा, गङ्गादशहरा पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरु भएको छ ।

प्रत्येक वर्ष लाग्ने दशहरा पर्वका अवसरमा गोसाइँकुण्ड जाँदा सफा मौसम, भीडभाडको कमी, लेक लाग्ने समस्या अत्यन्तै न्यून, वासस्थानको सहजता, प्राकृतिक छटा सहज रुपले देख्न सकिने विविध सुविधाले यस वर्ष पाँच हजारभन्दा बढी भक्तजनले कुण्डमा स्नान र पूजाआराधना गर्ने अनुमान रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

कुण्डमा स्नान गरी कुण्डको डिलमा बसी बर माग्दा जुन चिजको माग हुन्छ त्यो कुरा भगवान्ले पूरा गर्ने र बाँझोपनका स्त्री–पुरुषबीच बच्चा पैदा हुने विश्वाससमेत रहिआएको स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार कुण्डको जल बोकी धैवुङको कालिका मन्दिरमा चढाउनैपर्ने मान्यतासमेत रहिआएको छ ।

गोसाइँकुण्ड मेलालाई लक्षित गरी आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाइसकिएको जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले बताउनुभयो ।

काठमाडाँैबाट धुन्चेसम्म मोटर र धुन्चेबाट एक दिनको पैदल यात्राले गोसाइँकुण्ड पुग्न सकिने र बाटोमा खान बस्नको कुनै समस्या नआउने चन्दनबारीका होटल व्यवसायी पासाङ घिर्मी तामाङले बताउनुभयो । गङ्गादशहरा पर्व असार १ गते पर्ने पञ्डितहरुले बताएका छन् । रासस

 

LIVE TV