२८ जेष्ठ २०७३, शुक्रबार

    दमकमा ७२ फिट अग्लो र चार तले भ्यूटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले विकास सबैको साझा मुद्दा भएकाले यसमा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न जरुरी रहेको बताउनुभयो ।

झापाको दमकस्थित दापगा गाछीमा निर्माण हुन लागेको दमक भ्यूटावरको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास, समृद्धितर्फ देशलाई रुपान्तरण गर्न सबै जुट्न सके परिवर्तन सम्भव हुने बताउनुभयो ।

मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको बताउनुभयो ।

सरकारको करिब एक अर्ब रुपैयाको लगानीमा बन्न लागेको दमक भ्यू टावर ७२ फिट अग्लो र चार तले हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनुभयो ।

दमकको आन्तरिक पर्यटन प्रवद्र्धनमा बन्न लागेको भ्यूटावर करिब पाँच बिघा क्षेत्रफलमा रहेको छ । भ्यूटावर बनाउन स्थानीयवासीले लाखौँ रुपैयाँ मूल्यका जग्गा नगरपालिकालाई निःशुल्क दिएका छन् ।

LIVE TV