२७ जेष्ठ २०७३, बिहीबार

बहुमूल्य यार्साको खोजी गर्न भीर पहरा नाघेर पाटन पुगेका केही डोल्पावासी रित्तै घर फर्केका छन् । यार्सा पाउँन नसकेको भन्दै केही सर्वसाधारण रित्तो हात घर फर्केका हुन् ।

भीर पहरा छिचोल्दै पाटन पुगेका डोल्पावासीहरु मुटु छुने जाडोमा यार्सा खोज्न तल्लीन छन् । तर यार्सा खोज्न त्यति सहज भने छैन । बडो ध्यानपूर्वक खोज्नुपर्छ । धेरैका लागि यार्सा पाउँनु भनेको भाग्यमा लेखिए जस्तो हुन्छ  । कसैले पाउँदैनन कसैले त्यही ठाउँमा भेट्टाउँछन् । त्यसैले कति त पाटन पुगेर रित्तो हात फर्कन बाध्य छन् । यस वर्ष पनि कतिपय मानिस रित्तै फर्किएका छन् ।

जतिगर्दा पनि यार्सा नभेटपछि आफूहरु लगेको खाद्यान्न त्यसै छाडेर घर फर्केको उनीहरु बताउँछन् । निकुञ्जलाई तिरेको प्रवेश शुल्क पनि उठाउन नसकेको उनीहरुको दुखेसो छ । घरमा खेतीपाती बिग्रिने यता यार्सा पनि नपाइने भएपछि वर्षभरि खाने बाली बिगार्न नहुने भन्दै आफूहरु फर्केको उनीहरु बताउँछन् ।

विगतमा झै यार्सा नभेटेको र भेटेको पनि काम नलाग्ने गरी कुहिएको पाइएकाले खोजी त्याग गरिएको उनीहरुको कथन छ ।

विद्यालय जान छोडेर आमाबासंग यार्सा खोज्न पाटन पुगेका बालबालिका पनि निराश भई फर्केका छन् । यार्सा खोज्न गएर पढाइ मात्र विग्रिएको र  व्यर्थै दुःख मात्र पाएको उनीहरु बताउँछन् ।

डोल्पाका पाटनमा पाइने यार्सासंग सम्पत्ति  र सुख मात्र गाँसिएको छैन दुःखै दुःखका दृश्य पनि छन् । दुर्गममा बसेर नेपाली जनताले कतै यो पीडा व्यहोरेका छन् भने कतै तिनै जनताले तिरेको राजश्व जम्मा पारी राज्यले कसैलाई सुख कटाएको छ ।

जनतालाई दुःखद् आकर्षणमा आकर्षित गरेर दुई पैसा कमाउनु भन्दा यार्साको खेती नै गर्न सिकाएर जनतालाई दिगो विकासमा लगाउन सकिने सम्भावना रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीको कथन छ ।

त्यसैले यो सम्भावनालाई उजागार गर्दै यार्साको खेतीका लागि आवश्यक प्रविधि र वातावरण बनाउँनतर्फ सरकारको ध्यान जान आवश्यक छ ।

 

LIVE TV