२७ जेष्ठ २०७३, बिहीबार

ccc

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरु अराजक गतिविधिले सर्वसाधारणले सास्ती पाएका छन् ।

बन्दकर्ताले रौतहटमा गुडिरहेको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन् । बम प्रहारबाट ट्रकका चालक बलराम भण्डारी र सहचालक वसन्त मगर घाइते भएका छन् । उनीहरुको उपचार चन्द्रपुर अस्पतालमा भँइरहेको छ । पेट्रोल बम लागेर सहचालक मगर गम्भीर घाइते भएको डाक्टर सुवास चौधरीले जानकारी दिनुभयो ।

मिर्चैयाबाट आँप लिएर काठमाडौं आउँदै गरेको ना ६ ख ४६१५ नम्बरको ट्रकमा साढे पाँच बजे बिहान बिप्लव माओवादीका कार्यकर्ताले जंगलमा पेट्रोल बम प्रहार गरेका हुन् ।

बन्दका कारण काठमाडौं उपत्यकासहित देशभरका सडकमा आज भाडाका गाडी निकै कम चलेका छन् । काठमाडौं उपत्यका भित्रने र बाहिर जाने गाडी फाट्टफुट्ट मात्र चलेका छन् ।

त्यस्तै आज बिहान साढे तीन बजे बन्दकर्ताले काटेश्वरमा चालकलाई भित्रै राखेर ट्याक्सीमा पेट्रोल छर्केर आगजनी गरेका छन् । आगोबाट बल्ल बल्ल आफुले ज्यान जोगाएको ट्याक्सी चालक दीपक खरेलले बताउनुभयो ।

यसैगरी काठमाण्डौंको त्रिपुरेश्वर नजिक साझा बसमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ ।  ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बन्दकर्ताको ढुङगा लागेर साझा बसका चालक घाइते भएका छन् ।

यसैबीच बन्द गराउँदै हिडेका तीन दर्जन भन्दा बढि बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका बन्दकर्ताहरुलाई महेन्द्र पुलिस क्लब, बालाजु लगायका स्थानमा राखिएको छ ।

LIVE TV