२७ जेष्ठ २०७३, बिहीबार

 

pun nand

काठमाडौं, उपराष्ट्रपति नन्दबहादुर पुन शुक्रबारदेखि चीनको भ्रमण गर्दै हुनुहुन्छ ।

आफ्नो चीन भ्रमणबारे उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज जानकारी गराउनुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी, आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटमा उपराष्ट्रपतिले राष्ट्रपतिलाई आफ्नो भ्रमणबारे जानकारी गराउनुभएको हो ।

भेटमा राष्ट्रपति र प्रधानमन्त्रीले उपराष्ट्रपतिलाई चीन भ्रमणका लागि शुभकामना दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले उपराष्ट्रपतिको भ्रमणले चीन र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणपछि हुन लागेको उपराष्ट्रपतिको भ्रमणले चीन र नेपालको सम्बन्ध झनै मजबुत हुने जनाउँदै शुभकामना दिनुभयो ।

उपराष्ट्रपतिले आफ्नो भ्रमण दुई देशको सम्बन्धलाई थप नयाँ उचाइमा पु¥याउनमा केन्द्रित हुने बताउनुभयो । उहाँले आफूले चौथो चीन–दक्षिण एसिया मेला, २४ औँ चीन–कुन्मिङ आयात निर्यात व्यापार मेला र सोही दिन चीन दक्षिण एसिया व्यवसायी मञ्चलाई सम्बोधन गर्ने जानकारी गराउनुभयो ।

भेटमा उपराष्ट्रपतिले राष्ट्रपति र प्रधानमन्त्रीसँग सुझाव समेत लिनुभएको थियो । उपराष्ट्रपति चीनको औपचारिक भ्रमणका लागि शुक्रबार बिहान ११ बजे चीन प्रस्थान गर्दै हुनुहुन्छ । भ्रमण टोलीमा उपराष्ट्रपतिकी धर्मपत्नी हस्तमाली, उपराष्ट्रपति कार्यालयका सचिव राजेन्द्रकिशोर क्षेत्री, उपराष्ट्रपतिको स्वकीय सचिव सुकबहादुर रोका, उपराष्ट्रपतिको प्रेस संयोजक घर्ती, उपराष्ट्रपतिका पाश्र्ववर्ती प्रमुख सेनानी मनोजकुमार सिलवाललगायत ११ जना छन् ।

यसैगरी भ्रमण टोलीमा परराष्ट्र मन्त्रालयका नायब शिष्टाचार महापाल सुरेन्द्र थापा र शाखा अधिकृत जनक सिंह, प्रधानमन्त्री कार्यालयका उपसचिव अञ्जानकुमार मिश्र, उपराष्ट्रपति कार्यालयका खरिदार सृष्टि शाक्य र भाषा अनुवादक डा. हरिशचन्द्र शाह हुनुहुन्छ ।

उपराष्ट्रपतिमा निर्वाचित भएपछि पुनको यो पहिलो विदेश भ्रमण हुन लागेको हो । उपराष्ट्रपति चीनको साताव्यापी भ्रमण सकेर आगामी असार २ गते स्वदेश फर्कनुहुनेछ । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV