२७ जेष्ठ २०७३, बिहीबार

बग्दाद – इराकको राजधानी बग्दाद र उत्तरी बग्दादस्थित बिहीबार भएको दुई वटा विस्फोटनमा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १८ पुगेको छ ।

उत्तरी बग्दादमा रहेका एक सैनिक शिवीरनजिकै आत्मघाती कारबम विस्फोट र इराकको राजधानीमा रहेको बजार इलाकानजिकै भएको अर्को एक बिस्फोटनमा परी ती १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सुरुमा दिइएको जानकारीअनुसार यस विस्फोटमा परी नौ व्यक्तिको मृत्यु भएको थियो । यी दुबै विस्फोटन स्थानीय समयाअनुसार बिहीबार बिहान ९ बजे भएको जनाइएको छ ।

उत्तरी बग्दादको ताजी सहरमा रहेको इराकी सैनिक शिवीरबाट नजिकै एक बस स्टेसनमा भएको आत्मघाती कारबम आक्रमणमा कम्तीमा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य १८ जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

त्यसै बग्दादको जदिदा क्षेत्रमा भएको अर्को विस्फोटनमा परी कम्तीमा ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २७ जना घाइते भएका सोही स्रोतले जानकारी दिएको छ ।

बग्दादको स्वास्थ्य अधिकारीहरुले यस हताहतिको पुष्टि गरेका छन् । घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने समते स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका छन् ।
तत्काल यस आक्रमणको कुनै समूहले जिम्मा लिएको छैन् । तर यस्ता आक्रमणहरुको यसअघि इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले जिम्मा लिदै आएका थिए । रासस ÷एएफपी

 

LIVE TV