२७ जेष्ठ २०७३, बिहीबार

biplab-feature-800x500_cपीपल–४ जिपुका हुर्मत नाथ ३५ वर्षपछि २०५९ सालमा भारतबाट घर फर्के । बाबुबाट सम्पत्ति माग गरेपछि गाउँमा छलफल गरी उनका पाँच भाइहरूको नाममा रहेको जग्गा दिलाइयो । उनले उक्त जग्गा माओवादीको ‘जनसत्ता’मार्फत पीपल–३ का लालबहादुर खत्रीलाई ७० हजार रुपैयाँमा बिक्री गरे । उक्त जग्गा लालबहादुरले पीपल–६ का धर्मु नाथलाई बिक्री गरे ।

हुर्मतले फेरि बाबुको सम्पत्ति नपाएको भनेर अदालतमा मुद्दा हाले । अदालतले ५ भाइका नाममा जग्गा नै काटेर हुर्मतलाई दिन भन्यो । त्यसपछि धर्मुलाई समस्या पर्‍यो । ‘जनसत्ता’मार्फत किनेको जग्गा बेच्नेले पाउने भएपछि उनी संकटमा परे । अन्त्यमा बाध्य भएर हुर्मतका लागि तीन भाइले काटिदिएको जग्गालाई १ लाख ३० हजार रुपैयाँ थपे । हाल भारतमा भएकाले अझै दुई भाइको जग्गा मिलाउन बाँकी छ । दस वर्षअघि पास गरेको जग्गामा अहिले दुई गुणा बढी रकम तिर्नुपर्दा उनी साह्रै तनावमा छन् ।

धर्मुले त्यतिबेलै छिमेकी परविर खत्रीबाट ९० हजारमा घरजग्गा किने र जनसत्तामार्फत पास गरे । घरजग्गा बिक्री गरेपछि बसाइँ सराइ गरी दाङ गएका खत्री भर्खरै पीपल पुगेर जग्गा आफ्नो भएको दाबी गर्न थाले । अन्त्यमा बाध्य भएर १ लाख ९० हजार रुपैयाँ थपेर मालपोतबाट पास गराए । ‘एउटै जग्गा दुई पटक किन्नुपर्दा म साह्रै पीडित छु । अझै कति जनालाई पैसा थप्दै जानुपर्ने हो थाहा छैन,’ उनले भने, ‘त्यतिबेला जग्गा पास गर्न सदरमुकाम जान पाइँदैनथ्यो । ‘जनसत्ता’ साक्षी बसेर जग्गा पास गरिदियो । हामीले ‘जनसत्ता’लाई कर पनि तिर्‍यौं तर अहिले उल्टै दु:ख पाइयो ।’

‘जनसत्ता’मार्फत जग्गा किनबेच गरेर दु:ख पाउने धर्मु एक उदाहरण हुन् । एउटा जग्गा किनबेच हुँदै तेस्रो व्यक्तिसम्म पुगिसक्दा पनि पुरानो जग्गाधनीले दाबी गर्न थालेपछि यसले रुकुमका गाउँहरूमा विवाद बढाइरहेको छ । पहिले बेचेको जग्गा आफूले दाबी गर्ने र अहिलेको मूल्यअनुसार रकम थप्न लगाउने समस्या बढ्दै गएको छ , कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV