२६ जेष्ठ २०७३, बुधबार

त्रिशूली (नुवाकोट), जिल्लाका सामरी–३ फलाटे गाउँका २४ वर्षीय कुमार तामाङको हत्यामा संलग्न भएको आरोपमा नुवाकोट प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

जेठ १८ गते कुमारलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकालाई जिल्ला प्रहरीले आज सार्वजनिक गरेको हो । आरोपीलाई सामरीबाट मङ्गलबार राति प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याएको थियो ।

पक्राउपर्नेमा सामरी–६ मैबलका २४ वर्षीय राकेश डुब्बा भन्ने बुद्धिबहादुर तामाङ, सोही वडाका २२ वर्षीय दाबा भन्ने सोमबहादुर तामाङ, सोही वडाका २६ वर्षीय मुस्कान तामाङ र सामरी–३ फलाटेका १९ वर्षीय काले भन्ने कालु तामाङ रहेका छन् ।

पक्राउ परेकालाई आज जिल्ला अदालतबाट अनुसन्धानका लागि थुनामा राख्ने म्याद लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराले बताउनुभयो ।

प्रकाश तामाङलाई मार्न भनी गएको टोलीले प्रकाशको घर पुग्नु अगाडि नै बाटोमा कुमारसँग भेट भएको र दुवै पक्षले मदिरा सेवन गरेर झगडा परेकाले कुटपिट हुँदा कुमारको ज्यान गएको बताइएको छ । जेठ १९ गते मृत अस्वथामा भेटिएको कुमारको हत्या संलग्नमा पक्राउ गर्न सात दिन लागेको थियो । हत्यामा संलग्न एक जना अझै फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

 

LIVE TV