
कालिमाटी प्रहरीले गत हप्ता वल्खुमा भएको चोरी तथा हत्यामा संलग्न ११ जना युवाहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले विपिन इन्टरप्राइजेज आइएमईवाट चोरी गर्ने चार जना र गगनप्रसाद अर्याललाई कुटपिट गरी हत्या गर्ने सात जनालाई पक्राउ गरेको हो ।
जेष्ठ पन्ध्र गते ट्यांकर चालक अर्यालको वसले किचेर निधन भएको भन्दै प्रहरीलाई सूचना प्राप्त भएको थियो । तर सोही घटनामा घाइते हरी कुमार कार्कीसँग सोधपुछ गर्दा वसमा सवार रहेका युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको खुल्न आएको थियो ।
त्यसक्रममा, प्रहरीले रामेछापका पूर्णकुमार श्रेष्ठ, धनुषाका भुषण बुढाथोकी, नुवाकोटका सरोज कुवर, गोरखाका सुभाष कुवर, मकवानपुरका सफल दाहाल, नुवाकोटका सूर्य तामाङ र धनुषाका आर्दश राइलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै, कालिमाटी प्रहरीले जेष्ठ १२ गते विपिन इन्टरप्राइजेज आइएमईवाट चोरी गरी फरार रहेका चार युवाहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धादिङका विशाल घले, नवलपरासीका रमन आले, उदयपुरका दिपेश खतिवडा र उदयपुरकै निकेश खतिवडा रहेका छन् । अपरान्ह काउन्टरमा बसेकी सुजाता अर्यालाई खुकुरी देखाएर पाँच लाख वरावरको रकम लुटेर भागेका उनीहरुलाई प्रहरीले एक हप्ता पछि पक्राउ गरेको हो ।
प्रहरीले चोरी भएको आइएमईको सिसिटिभीको फुटेजको आधारमा संलग्न्हरुको पहिचान गरेको थियो । उनीहरु सबै जना विद्यार्थी रहेको खुल्न आएको छ भने उनीहरुको साथवाट प्रहरीले नाइट्रसन, प्रोक्सिभन र नाइट्रोभेट लगायतका लागूऔषधहरुसमेत वरामद गरेको जनाएको छ ।