२६ जेष्ठ २०७३, बुधबार

बंगलादेशीको सहयोगमा नेपाली युवाहरु कलबाइपासमा संलग्न, कल बाइपासका बारेमा सर्वसाधारण पनि सचेत हुन जरुरी  

तपाईले बिदेशबाट रिसिभ गर्नुभएका फोन कलहरुमा नेपालकै मोबाईल नम्बरहरु देखिएको पाउनुभएको छ ? यो आगमनकल बाईपास गरेर सञ्चालन गरिएको इन्टरनेट टेलिफोनको उदाहरण हो ।

त्यसैले यस्तो कलबाट सजग रहनुहोला । किनकि, कल बाईपास गरि गैरकानुनी रुपमा जनता र राज्यको करोडौ रकम ठगी गर्ने गिरोह सक्रिय छन् र त्यसमा तपाई पनि सहभागी भइरहनु भएको छ ।

यी दिलबहादुर बोहोरा थापा । बागलुङका दिलबहादुरलाई कल बाइपासमा सघाएबापत प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो, सिआइबी टोलीले जेठ १८ गते काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । उनलाई कल बाइपासमा सघाएबापत बंगलादेशबाट पैसा प्राप्त हुने गरेको अनुसन्धानमा भेटिएको छ ।

बंगलादेशीको सहयोगमा आफ्नो कोठामा अत्याधुनिक उपकरणसहित भिओआइपी जडान गरेको प्रहरीले जानकारी दिएको छ ।

सिआइबीका अनुसार पछिल्लो समय काठमाडौंसँगै पोखरा, हेटौंडा, वीरगन्जजस्ता सहर र ठूला अपार्टमेन्टका आलिसान कोठाबाट कल बाइपासको अवैध धन्दा चल्ने गरेको छ ।

यो प्रविधि मुलुकको अर्थतन्त्रका लागि खतरनाक चुहावट बनेको छ । टेलिफोन सेवा प्रयोग गर्ने ग्राहकले १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत भ्याट तिर्नुपर्छ ।

यस्तो रकम अवैध भिओआईपीबाट संकलन हँुदैन । दशकयता दूरसञ्चार सेवाप्रदायक कम्पनीका २२ हजार  सिमकार्ड प्रयोग गरी १३ अर्ब रुपैयाँभन्दा बढीको कल बाइपास भएको प्रहरीले जनाएको छ ।

सिआइबीका अनुसार २०६४ देखि गत जेठ १८ सम्म देशका विभिन्न ९१ स्थानमा गरेको अनुसन्धानपछि १३ अर्ब ४९ करोड रुपैयाँबराबर कल बाइपास भएको बिगो दाबीसहित मुद्दा दर्ता गरेको छ । मुद्दामा १ सय ५ नेपाली र ३६ विदेशी नागरिकलाई विपक्षी बनाइएको छ ।

नेपालमा आगमन कल बाईपास गरिएको ईन्टरनेट फोन प्रतिबन्धित छ । दुरसंचार ऐन २०५३ को दफा ४७ को उपदफा ५ ले गैह्र कानूनी भिओआईपीलाई अपराध मान्दै यस्ता धन्दामा संलग्न उपर हानी नोक्सानीको बीगो बमोजिम जरिवाना वा ५ वर्ष सम्म कैद वा दुबै सजाय हुने कानुनी व्यवस्था छ गरेको छ ।

अन्तर्राष्ट्रिय फोन–कल बाइपास गरी ठगी गर्ने विरुद्ध थालिएको अप्रेसन भ्वाइस फक्स ब्यबहारिक नदेखिएको भन्दै प्रहरीले यो सेवा बन्द गरि बिकल्प खोज्ने प्रयास गर्ने भएको छ ।

सिमकार्ड लिनको लागि कमजोर ब्यबस्थाका कारण सिम दुरुपयोग गरि कल बाईपास जस्तो गैर कानुनी धन्दा मौलाउँदै छ । यसतर्फ सम्बधित निकाय र सर्बसाधरण समेत सचेत बन्नु जरुरी देखिन्छ ।

 

LIVE TV