
उत्तर कोरियाले परमाणु उर्जा उत्पादन फेरि सुरु गरेको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकाको गृहमन्त्रालयका उच्च अधिकारीले उत्तर कोरियाले परमाणु बम बनाउन प्रयोग हुने प्लुटोनियम उर्जा उत्पादन फेरि सुरु गरेको बताएका हुन् ।
अन्तराष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु हतियार बनाउने कार्यक्रमलाई बढावा दिँदै गएको र परमाणु उर्जा उत्पादनले यसैलाई पुष्टी गर्ने अमेरिकाको आरोप छ ।
यसअघि संयुक्त राष्ट्रसंघको परमाणु कार्यक्रमसँग सम्बन्धी निगरानी राख्ने निकायले उत्तर कोरियाले बन्द रहेको परमाणु केन्द्र फेरि सञ्चालन गरेको संकेत मिलेको बताएको थियो । उत्तर कोरियाको पछिल्लो गतिविधि चिन्ताको विषय रहेको अमेरिकी अधिकारीले बताएका छन् ।
उत्तर कोरियाले आफ्नो सबै भन्दा ठूलो प्रमाणु भट्टी योङबायोङबाट प्लुटोनियम उर्जा उत्पादन सुरु गरेको दाबी गरिएको हो । यो भट्टी सन् २००७ देखि बन्द थियो ।
उत्तर कोरियाले हतियार निमार्णलाई पनि प्राथमिकता दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । गएको जनवरीमा चौथो परमाणु परीक्षण गरेपछि उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा भएको थियो ।