२६ जेष्ठ २०७३, बुधबार

काठमाडौँ, श्रम तथा रोजगारमन्त्री दीपक बोहराले स्विट्जरल्यान्डको जेनेभामा भइरहेको १०५औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनलाई मङ्गलबार सम्बोधन गर्नुभयो ।

आफ्नो सम्बोधनमा उहाँले नेपालको नयाँ संविधान श्रमिकमैत्री रहेको बताउनुभएको राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ । उहाँले संविधानका सकारात्मक पक्षहरुबारे चर्चा पनि गर्नुभएको थियो ।

मन्त्री बोहराले संविधानले सबै नेपालीका सामूहिक हितको प्रत्याभूत गर्नुका साथै शान्ति, सुशासन, समानता र दिगो विकासमा जोड दिएको बताउनुभयो ।

सुरक्षित, मानवीय र कामदारमैत्री आप्रवासन विषयलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री बोहराले उल्लेख गर्नुभयो ।

कामदारलाई उपयुक्त सीप, तालिमका माध्यमबाट क्षमता अभिवृद्धिमा सरकार लागिरहेको उहाँको भनाइ थियो । सम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को सञ्चालक समिति सदस्यका लागि हुने आगामी निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै त्यसमा सहयोगका लागि अन्य राष्ट्रलाई आग्रह गरेको नियोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्मेलनकै बीचमा असंलग्न आन्दोलनका श्रममन्त्रीहरुको आजको बैठकमा समेत उहाँले सम्बोधन गर्नुभएको थियो । मन्त्री बोहराले मौरिसस र पोर्चुगलका श्रममन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ती देशमा नेपाली युवालाई रोजगारका लागि जाने वातावरण बनाउन आग्रह गर्नुभएको थियो ।

त्यसैगरी, साउदी अरबका श्रम उपमन्त्रीसँगको भेटमा नेपाल र साउदीबीचको श्रमसम्झौतालाई छिट्टै टुङ्ग्याउने विषयमा उहाँले छलफल गर्नुभयो ।

मन्त्री बोहराले बिहीबार एशिया प्रशान्त क्षेत्रका श्रम मन्त्रीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । रासस

 

LIVE TV