२६ जेष्ठ २०७३, बुधबार

बैंकक, थाइल्याण्ड एचआइभी संक्रमित गर्भवती आमाबाट बच्चामा यसको सङ्क्रमण हटाउन सफल पहिलो एसियाली देश भएको छ ।

यस्तो देशको सूचीमा थाइल्याण्ड परेको र उक्त देश यस्तो सङ्क्रमण हटाउन सफल पहिलो एसियाली देश बनेको विश्व स्वास्थ्य संगठनले बुधबार घोषणा गरेको छ ।

थाइल्याण्डको जनस्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार थाइल्याण्डले गर्भवती आमामा रहेको एचआइभी सङ्क्रमण ती आमाबाट बच्चा जन्मिदा उनको बच्चामा पनि सर्ने खतरालाई लगभग उन्मूलन गरेको छ ।

उक्त मन्त्रालयको तथ्याङ्कअनुसार थाइल्याण्डमा यस्ता आमाबाट तिनका बच्चामा एचआइभी सङ्क्रमणको दर हाल १.९१ प्रतिशतमा झरेको छ ।

यो दर सन् २००३ मा १०.३ प्रतिशत थियो । तर हाल आएर भने यो सङ्क्रमण दरमा निकै कमी आएको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार यस्तो सङ्क्रमण सर्ने दर २ प्रतिशतभन्दा कम आयोभने त्यसलाई उन्मूलन भएको रुपमा मापन गरिन्छ ।

त्यस्तै एक लाख यस्ता आमाहरुबाट बच्चा जन्मिदा ५० जनाभन्दा कम बच्चामा यस्तो सङ्क्रमण देखियो भनेपनि त्यस्तो अवस्थालाई पनि सङ्क्रमण उन्मूलन भएको अवस्थाका रुपमा मापन गर्ने गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले बुधबार थाइल्याण्डले यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भनेको छ । साथै एचआइभीलाई पनि हराउन सकिन्छ भनेर विश्वमा थाइल्याण्डले देखाएको पनि बताएको छ । रासस÷एपी

 

LIVE TV