२६ जेष्ठ २०७३, बुधबार

अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा कोलम्बिया क्वाटरफाइलनमा प्रवेश गरेको छ ।

जारी प्रतियोगीतामा लगातार दोस्रो जित निकाल्दै कोलोम्बिया यसपटकको प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

समूह ए अन्तर्गत बुधबार बिहान क्यालिफोर्नियामा भएको खेलमा कोलम्बियाले पाराग्वेलाई २–१ ले हराएको हो । कोलम्बियाको जितमा कार्लोस बाका र कप्तान जेम्स रोड्रिग्वेजले एक एक गोल गरे । १२ औं मिनेटमा बाकाले गोल गर्दै कोलम्बियालाई सुरुवाति अग्रता दिलाएका थिए ।

३० औं मिनेटमा रोड्रिग्वेजले कोलम्बियाको अग्रता दोब्बर पारे । पहिलो हाफमा २–० ले पछि परेको पाराग्वेका लागि ७१ औं मिनेटमा भिक्टर आयालाले एक गोल फर्काए पनि हार टार्न भने सकेनन् ।

कोलम्बियाले पहिलो खेलमा आयोजक अमेरिकालाई २–० ले हराएको थियो । पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको पाराग्वेको एक अंक छ ।

बुधबार बिहानै भएको खेलमा आयोजक अमेरिकाले कोष्टारिकामाथि शानदार जीत हात पारेको छ । अमेरिकाको सिकागोमा भएको खेलमा अमेरिकाले कोष्टारिकालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

क्लिन्ट डेम्सेको गोलबाट खेलको ९ औँ मिनेटमै सुरुवाती अग्रता लिएको अमेरिकाका लागि ३७ औँ मिनेटमा जोन्सले एक गोल थप्दै टोलीको अग्रता दोब्बर पारे ।

त्यसको पाँचौं मिनेटपछि ४२ औँ मिनेटमा अर्का खेलाडी उडले गोल गरेपछि अमेरिका पहिलो हाफमै ३–० को अग्रता लिन सफल भयो ।

दोस्रो हाफमा खेलको अन्त्यतिर अमेरिकाले थप एक गोल गर्यो । आयोजक अमेरिकालाई ४–० गोलको शानदार जित दिलाउँन खेलको ८७ औँ मिनेटमा ग्राह्म जुसीले गोल गरेका थिए ।

जारी प्रतियोगीतामा दुई खेल खेलेको अमेरिकाको यो पहिलो जीत हो । उद्घाटन खेलमा अमेरिका कोलम्बियासँग २–० ले पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV