
अमेरिका र भारतबीच सुरक्षा तथा आपसी सहयोगबारे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।
अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति बाराक ओबामाबीच यस्तो सम्झैता भएको हो ।
स्थानीय समय अनुसार मंगलबार बिहान भएको भेटमा सुरक्षा तथा आपसी सहयोगका विभिन्न मुद्दामा छलफल तथा सम्झौता भएको हो ।
भारतको पठानकोट, बेल्जियमको ब्रसेल्स तथा अफगानिस्तानको काबुलमा भएको आक्रमणको दुवै देशले निन्दा गरेका छन् ।
चरमपन्थी आक्रमण मानव सभ्यताका लागि चुनौती रहेको भन्दै त्यस विरुद्ध एकजुट भएर लाग्ने सहमति भएको छ । चरमपन्थी आक्रमण विरुद्धको प्रयासलाई दोब्बर पार्न पनि दुवै देश सहमत भएका छन् ।
अमेरिका, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा भारतलाई स्थायी सदस्यता दिने विषयमा पनि सहमत भएको छ । यस्तै, मिसाइल टेक्नोलोजी कन्ट्रोल रेजिम एमटिसिआरमा भारतको सदस्यताका लागि अमेरिकाले समर्थन गर्ने भएको छ । भारतको एकसय ७५ गिगावाट उर्जा उत्पादन राष्ट्रिय लक्ष्य पूरा गर्न अमेरिकाले सहयोगमा गर्ने भएको छ ।
यस्तै अन्तरिक्ष अभियान, शिक्षा, आतंककारी विरुद्धको कारबाही अभियानमा संयुक्त रुपमा जुट्ने लगायतका विषयमा पनि अमेरिका र भारतबिच सहमति भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी तीन दिने भ्रमणको क्रममा अमेरिकामा छन् । यसअघि मोदी सन् २०१४ को सेप्टेम्बरमा पनि अमेरिका गएका थिए ।