२५ जेष्ठ २०७३, मंगलवार

pm in s

सुर्खेत, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विकासका आयोजनालाई सरकारले बजेटको अभाव हुन नदिने बताउनुभएको छ ।

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको प्रशासनिक भवनको आज यहाँ शिलान्यास गर्नुहुँदै प्रधानमन्त्री ओलीले राष्ट्र विकासका लागि आउने आयोजनालाई बजेटको अभाव नहुने स्पष्ट गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस विश्वविद्यालयलाई नेपालको नमुना विश्वविद्यालयका रुपमा अन्तर्राष्ट्रिय जगत्मा परिचित बनाउनुपर्ने सुझाव पनि दिनुभयो । प्रधानमन्त्रीले सुर्खेतको बामेखोलास्थित मप विश्वविद्यालयको इन्जिनियरिङ कलेजसम्मको १० किलोमिटर सडकलाई यसै वर्ष कालोपत्र गरिने जानकारी दिनुभयो ।

उहाँले सुर्खेतको विकासलाई भेरी बबई डाइभर्सनले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न, सुर्खेतको पूर्वाधार विकासका लागि विमानस्थल, मेडिकल कलेज, औद्योगिक क्षेत्रलगायतको स्थापना गर्न सरकार प्रयासरत रहेको बताउनुभयो ।

स्थानीय निकाय र प्रतिनिधिसभाको निर्वाचनपछि मात्र सरकार परिवर्तन हुनसक्ने बताउँदै उहाँले भन्नुभयो, ‘‘आफू प्रधानमन्त्री हुनका लागि मात्र प्रधानमन्त्री बनेको होइन, देश विकास गर्नका लागि भएको हो ।’’

सो अवसरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा चरम राजनीतिक भागबन्डा रहेको बताउँदै राजनीतिक दबाबका कारण मन्त्री तथा नेताहरुपिच्छे फरक फरक शिक्षा क्षेत्रमा प्रभाव पर्ने गरेको जनाउनुभयो । राष्ट्रको विकासमा योगदान पु¥याउने गरी विश्वविद्यालयले आफ्नो उत्पादन वृद्धि गर्नुपर्ने शिक्षामन्त्री पोखरेलको सुझाव छ ।

शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयलाई रु पाँच करोडको चेक हस्तान्तरण गर्नुभएको थियो भने विश्वविद्यालय स्थापनामा सहयोग पु¥याउने सुर्खेती चन्दादाता मोतीप्रसाद सापकोटा, मौदगल्य समाज, मप विश्वविद्यालय सङ्घर्ष समितिका अध्यक्ष भूषणकुमार मानन्धर र जिल्ला उद्योग वाणिज्य सङ्घलाई सम्मान गर्नुभएको थियो ।

प्रधानमन्त्रीद्वारा मप क्षेत्रीय अस्पतालको नयाँ भवन उद्घाटन 

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतको नयाँ भवन उद्घाटन गर्नुभएको छ । एक दशकभन्दा लामो समय लगाएर आंशिकरुपमा तयार भएको क्षेत्रीय अस्पतालको भवन उहाँले आज उद्घाटन गर्नुभएको हो ।

अस्पतालको नयाँ भवनमा आजदेखि नै ओपिडी सेवा दिइएको अस्पतालले जनाएको छ । भवन उद्घाटन कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय अस्पताल विकास समितिले अस्पताल विकासका लागि चारबँुदे माग पत्र प्रधानमन्त्री ओलीसमक्ष पेस गरेको छ ।

प्रधानमन्त्री ओलीले अस्पतालले पेस गरेका सबै मागप्रति आफू सकारात्मक भएको र धेरैजसो माग छिट्टै कार्यान्वयन गर्ने आश्वासन दिनुभयो ।

समितिका अध्यक्ष खम्बराज थानीले प्रस्तुत गरेको मागमा क्षेत्रीय अस्पतालमा ३५० श्ययाका लागि मेनेजमेन्ट एन्ड अर्गनाइजेसन सर्वे स्वीकृति, एनआइसियु, आइसियु र सिटी स्क्यान सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्था, नयाँ भवनको माथिल्लो तल्ला थपलगायत रहेका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV