२५ जेष्ठ २०७३, मंगलवार

वैशाख १२ को महाविनाशकारी भूकम्पका कारण ध्वस्त भएको विद्यालय भवनहरु निर्माणका लागि विदेशमा बस्ने नेपालीहरुले सहयोग जुटाएर नुवाकोटमा महत्वपूर्ण काम गरेका छन् ।

अमेरिका, हङकङ र मलेसियामा संकलित सहयोगबाट नुवाकोटको विकट वस्ती भाल्चेमा दस र आठकोठे पक्की दुई वटा भवन हालै हस्तान्तरण गरिएको छ ।

नेपालको ग्रामीण शिक्षा र आर्थिक विकासका क्षेत्रमा काम गर्दै आएको संस्था नेपाल फाउण्डेशन फर रुरल एजुकेशन एण्ड इकोनोमिक डेभ्लप्मेन्ट, नेपाल फ्रिडले नुवाकोटको भाल्चेमा भूकम्पका कारण ध्वस्त भएको दुई वटा स्कुल भवन निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।

नेपाल फ्रिडका जय र हिरा तामाङले अमेरिका, हङकङ र मलेसियामा  संकलन गरेका सहयोगबाट नुवाकोट भाल्चे ४ स्थित जल्जुखोला माध्यमिक विद्यालयका लागि १० कोठे पक्की भवन र भाल्चे २ स्थित डिपेक महादेव प्राथमिक विद्यालयका लागि आठ कोठे पक्की भवनहरुको निर्माण गरिएको जनाएको छ ।

अमेरिका निवासी जय तामाङको नेतृत्वमा सन् २००९ मा स्थापित नेपाल फ्रिडको यो अभियानका लागि अमेरिकी नागरिक अन्निका बेरिड्जले १० लाख रुपियाँ सहयोग उपलब्ध गराएकी थिइन् ।

नेपाल फ्रिडको नेतृत्वमा विद्यालय भवन निर्माण सम्पन्न भइ विद्यालयलाई हस्तान्तरण गरिएकामा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले खुशी व्यक्त गरेका छन् । र विद्यालयमा समस्या अरु धेरै रहेको गुनासो गरेका छन् ।

विकट भाल्चेमा महत्वपूर्ण सहयोग उपलब्ध भएकामा अभिभावकहरुले आपूmहरुलाई निकै खुशी लागेको बताएका छन्  । नेपाल फ्रिडका अध्यक्ष रत्नमान तामाङ, पूर्वअध्यक्ष मेहारमान तामाङ र अभिभावकहरुले विद्यालयको प्रगतिका लागि आपूmहरु निरन्तर लागिपर्ने बताएका छन् ।

विगतदेखि सामाजिक कार्यमा सक्रिय नेपाल फ्रिडले भूकम्पलगतै राहतमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो भने भाल्चे क्षेत्रमा खानेपानी सेवा पुर्याउनका लागि पनि संस्थाले सहयोग गरेको अध्यक्ष तामाङले जानकारी दिएका छन् ।

 

LIVE TV