२५ जेष्ठ २०७३, मंगलवार

लामो समयको मधेस आन्दोलनका कारण बन्द भएका मोरङका छोटी भंसार कार्यालयहरु अझै सुचारु हुन सकेका छैनन् ।

मोरङमा ९ वटा छोटी भंसारहरु रहेकोमा रंगेली, मायागंज र डायनिया गरी ३ वटा मात्र संचालनमा रहेको विराटनगर भंसार कार्यालयले जनाएको छ ।

राजस्व संकलन भन्दा स्थानीय बासिन्दाहरुको सुविधालाई मध्यनजर राखी छोटी भंसार कार्यालहरु पुनस्र्थापित गरिएको विराटनगर भंसार कार्यालयका प्रमुख भंसार अधिकृत कृष्ण बस्नेतले जानकारी दिनुभयो ।

विगतको द्वन्द्वका बेला विस्थापित भएका मोरङका छोटी भंसारहरु शान्ति स्थापना पछि पुनस्र्थापित गर्दै लैजाने भनिएपनि मधुमल्ला, तरिगाना, कदमाहा, चुन्नीबारी, चौकीघाट बाहेक ३ वटा मात्र संचालनमा आइरहेका छन् ।

मधेस आन्दोलनका क्रममा संचालनमा रहेका ३ वटा पनि पुनः बन्द गर्न बाध्य हुनुपरेको विराटनगर भंसार कार्यालयले जनाएको छ । भंसार कार्यालय नहुँदा स्थानीय बासिन्दाहरुले भंसार तिरेरै सामान ल्याउन पनि करिब २५ किलोमिटर टाढा विराटनगर भंसार कार्यालयसम्म आउनु पर्ने बाध्यता रहेको छ ।

मोरङको ५३ किलोमिटर खुला सिमाक्षेत्रमा मुख्य भंसार नाका विराटनगर र छोटी भंसारहरु रंगेली, मायागंज र डायनिया मात्र संचालनमा छ । यसले गर्दा पूर्वी दक्षिणी भागमा चोरी निकासी पैठारी अत्यधिक हुँदा भंसार राजस्व संकलन समेत घटेको छ ।

भौतिक पूर्वाधार र कर्मचारी अभाव तथा सुरक्षा व्यवस्था नभएका कारण छोटी भंसारहरु पुनः संचालनमा आउन नसकेको विराटनगर भंसार कार्यालयले जनाएको छ ।

 

LIVE TV