
काठमाडौँ। वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको निधन गए राति अर्थात् आज बिहान २ बजेर ३७ मिनेटमा निधन भएको छ ।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जनसम्पर्क तथा सञ्चार व्यवस्थापक विनोद अधिकारीले उपचारमा संलग्न चिकित्सक डा चक्रराज पाण्डेलाई उद्धृत गर्दै भन्नुभयो, “उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर एक्कासि मुटुको चाल घट्यो । मुख्य कुरा बुढ्यौलीमा हुने शारीरिक कमजोरीका कारण उहाँको निधन भएको हो ।”
भोजन नली, मधुमेह, रक्तचाप लगायत समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि अस्पतालमा उपचार भइरहेको थियो । यसअघि उहाँको भारतको मेदान्त अस्पतालमा उपचार भएको थियो ।
भारतको दार्जिलिङमा जन्मेर नेपाल आई उहाँले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभएको थियो । ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए…, ‘म अम्बर हुँ, तिमी धर्ती…’ लगायत करिब हजार गीतमा उहाँले सङ्गीत भर्नुभएको थियो । उहाँ गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त हुनुहुन्थ्यो । जनजीवनमा उहाँलाई ‘राष्ट्रगायक’ भन्न थालिइसकेको थियो ।
उहाँ नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति हुनुहुन्थ्यो । उहाँका श्रीमती, तीन छोरा र एक छोरी अलका हुनुहुन्छ ।