२५ जेष्ठ २०७३, मंगलवार
 अब हामी माज बाँकी ‘नौ लाख तारा उदाए’ मात्रै
‘नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ
शरद लाग्यो वनमा फूलले प्रीति गाँसेछ।’
अम्बर गुरुङको लाखौं फ्यानको आकाश भने अहिले धुम्मिएको छ, रोइरहेको छ। ‘दुर भएर के भो?’ उनले गाए र त्यो समय पनि आयो, आफ्ना प्रशंशकलाई रुवाउँदै उनी संसारबाट ‘दुर’ भए।
Amber-Gurung1उनी मधुमेह, उच्चरक्तचाप, पार्किन्सनिजमजस्ता समस्याबाट पीडित थिए। खानेकुरा पचाउन गाह्रो हुने समस्याका कारण एक साताअघि उनलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो। दिल्लीको मेदान्त अस्पतालमा लामो समयको उपचारपछि उनी दुई महिनाअघि मात्रै नेपाल फर्किएका थिए।
दार्जिलिङमा जन्मिएका गुरुङले ७८ वर्ष लामो जिन्दगीको अधिकांश समय नेपालमा बिताए। विसं १९९४ फागुन १४ गते दार्जिलिङको लालढिकीमा उनको जन्म भएको थिए।
उनका हजुरबुवा भारतीय सेनाको जागिरेका रूपमा भारत छिरेका थिए। उनका बुवा उजिरसिंह गुरुङले पनि भारतीय सेनामै जागिर खाएका थिए। उनको पुख्र्यौली थलो भने गोरखा जिल्लाको रिसिङ हो।
नेपाली संगीतका ‘महागुरू’
गायन, संगीत र गीत रचनाका विलक्षण प्रतिभा गुरुङलाई उनका चेला, पत्रकार तथा लेखक पिटर जे कार्थक ‘माइस्ट्रो’ भन्न रुचाउँछन्। उनका अनुसार यो शब्दमा संगीतज्ञलाई गरिने सबैभन्दा बढी आदरको भाव हुन्छ, जुन शब्दले संगीतका महागुरु वा महर्षी भन्ने भाव बोक्छ।
सेतोपाटीमा रोहित खतिवडाले लेख्नुहुन्छ -‘संगीतमा त उनको आफ्नो स्थान छँदैछ, कसैसँग तुलनै हुँदैन। गायनमा पनि शब्द–शब्द बुझेर प्रत्येक शब्दमा ‘फिलिङ्स’ दिनसक्ने क्षमता अम्बर गुरुङसँग छ?’ कार्थक भन्छन्, ‘फेरि साहित्यसँग उनको निकटता हेरौं न, उनले रचना गरेको लिरिक्स कस्तो छ? त्यसैले मैले ‘माइस्ट्रो’ भनेको हुँ।’
16060210asd09y7adfasdfगीत रचना मात्रै होइन, गद्य लेखनमा पनि उनको कलम उत्तिकै राम्रो चल्यो। उनले लेखेको ‘कहाँ गए ती दिनहरू’ नेपाली निबन्ध साहित्यमा राम्रो छाप छोड्न सफल किताब बन्यो। पछिल्लो केही वर्ष उनले पत्रपत्रिकाका लागि थुप्रै निबन्ध लेखेका छन्। ती निबन्ध पुस्तकका रूपमा संग्रहीत भने भएका छैनन्। २०३५ सालमै ‘प्रत्येक ठाउँ प्रत्येक मान्छे’ का लागि साझा पुरस्कार जितेका कार्थक उनको लेखकीय प्रतिभाबारे परिचित थिए।
राष्ट्रकवि माधवप्रसाद घिमिरे त उनलाई नेपाली संगीतका ‘शताब्दी पुरुष’ मान्छन्। गुरुङ प्रज्ञाप्रतिष्ठानमा जागिरे छँदा घिमिरे उपकुलपति भएका थिए। यही बेला घिमिरेको नाटकमा उनले संगीत गरेका हुन्।
कार्थकको भने गुरुङ जवान हुँदादेखि अन्तिम सयमसम्मै निकटता रहयो।  उनले गुरुङको जीवनका सुखदुख देख्न, बुझ्न सके। त्यसैले त भन्छन्, ‘अम्बर सर, दुखिया हुनुभो।’ ‘नौलाख तारा उदाए’ कालजयी भए पनि उनको आकाश खुलेर हाँस्न पाएन, अभावमा रोइरह्यो। उनको गीतको यो अन्तराले भनेझैं:
‘नियाली हेर हामीलाई भिजेको छैन परेला
आँसुले गह भिजाए अरूले निर्धा सम्झेला’
‘नौ लाख तारा उदाए’ एउटा गीत मात्रै रहेन, उनको जीवनको एउटा महत्वपूर्ण घुम्ती बन्यो। मानौं, उनको जीवनको बाँकी बाटो यही गीतले देखाइरह्यो, यही गीतले उनलाई लखेटिरह्यो। चलिरहेको जीवन भत्काइदियो र नयाँ जीवनतर्फ धकेल्यो।
हाइस्कुल पढ्न गाउँबाट दार्जिलिङ आएको केही वर्षमै कार्थकले गुरुङलाई भेटेका थिए। अम्बर गुरुङ दार्जिलिङको आर्ट एकेडेमीमा संगीत सिकाउँथे। साथै लोक मनोरञ्जनमा संगीत विभाग प्रमुखको जागिरे थिए। महेन्द्र पी लामाका बाबु आरपी लामा त्यसका प्रमुख थिए। गोपाल योञ्जन, शान्ति ठटालहरू पनि यहीँका जागिरे थिए त्यसबेला।
यतिबेलै अम्बरको चेलो बनेर संगीत सिक्न गएका थिए कार्थक। कार्थकको पढाइ थियो ‘टर्नबुल स्कुल’मा। अम्बर गुरुङ त्यही स्कुलमा पढाउँथे। उनी जुनियर क्लासमा पढाउने भएकाले कार्थकले भेट्न पाएका थिएनन्। आर्ट एकेडेमीमा रञ्जित गजमेर, शरण प्रधान र ललितकुमार तामाङ गुरुङका सिनियर विद्यार्थी थिए। रञ्जित गजमेरले गुरुङसँग संगीत सिक्न आउन कार्थकलाई पनि निम्ता गरे। सबैभन्दा कान्छा चेलाका रूपमा उनी आर्ट एकेडेमी जान थाले।
‘सुरुसुरुमा टी बोइजस्तै भएर काम गर्थेँ,’ कार्थक खुलेर हाँसे र भने, ‘चिया बनाऊ कान्छा, कफी बनाऊ। नेपालबाट भूपि आउनुभएको छ ड्रिंक्स गराऊ, हेवार्ड्स रम लिएर आऊ यस्तै थियो। यसैगरी सुरु गरेको हुँ।’अम्बरले अह्राएका काम खुरुखुरु गर्थे उनी। त्यहीँ गिटार सिके। अनि गुरुङले जागिर खाने सरकारी संस्था ‘लोक मनोरञ्जन’ले गर्ने कार्यक्रममा पनि गिटार बजाउन थाले।
लोक मनोरञ्जनले गाउँगाउँ पुगेर नेपाली गीति नाटक देखाँथ्यो। कुञ्जिनी, मुनामदनजस्ता नाटक हुन्थ्यो। गाउँगाउँ जाने टोलीमा गुरुङसँगसँगै पुग्थे कार्थक पनि। गाउँमा देखाएका यी नाटक दार्जिलिङमा पनि मञ्चन हुन्थ्यो। दार्जिलिङमा यो नाटक देखाएर फर्किँदै गर्दा एक साँझ सँगै हिडिरहेका गुरुङले बोलाए, ’पिटर।’
गुरुङले त्यसबेला रक्सी पनि पिएका थिए। अनि अलिअलि नशा चढेकै स्वरमा भने, ‘आजदेखि तिमी पनि गिटारिस्ट भयौ।’कार्थक अत्यन्त खुशी भए, प्रमाणपत्र पाएझैं भयो उनलाई। ’त्यो दिन म कहिल्यै बिर्सिन्नँ,’ कार्थक भन्छन्।
केही सयम बित्यो। अगमसिंह गिरीले ‘नौलाख तारा उदाए’ रचना गरे। गुरुङले संगीत भरे र गाउने भए। यो गीत रेकर्ड भयो र चाँडै लोकप्रिय भयो। यो गीतको लोकप्रिय धुन राजा महेन्द्रको कानसम्म पुग्यो। २०२५ सालमा आफ्नो जन्मोत्सव मनाउन महेन्द्रले दार्जिलिङको टोलीलाई काठमाडौं बोलाए। दार्जिलिङबाट हिँडेको १४–१५ जनाको टिम विराटनगरबाट राजाले व्यवस्था गरिदिएको टिकटमा डिसी–थ्री जहाज चढेर काठमाडौं आइपुग्यो। दार्जिलिङमा यो टुरको नामै राखियो, ‘नौलाख तारा टुर’।
यो टोलीमा गोपाल योञ्जन, शान्ति ठटाल, अरुणा लामा, रन्जित गजमेर, शरण प्रधान, कर्म योञ्जन, इन्द्र थपलिया लगायत थिए। उनीहरूले नेपालमा थुप्रै ठाउँ कार्यक्रम गरे। महेन्द्रको जन्मोत्सवको साँझ दरबारमा भव्य ‘मेहेफिल’ जम्यो। दार्जिलिङे कलाकारको टोली कोठामा पस्नसाथ भान्छाबाट चिया आइपुग्यो। तत्कालीन राजा महेन्द्रले यसो हेरे र भने, ‘कलाकारलाई यसले हुँदैन। अब यतिबेला कहाँ चिया खाने?’
सेवकहरूले चियाका कप हटाए र मधुका गिलास राख्न थाले। महेन्द्र आफैं उठेर कलाकारलाई बस्न सजिलो छ÷छैन भनेर हेर्न थाले। हार्मोनियम राख्न सजिलो भयो कि भएन भन्दै टेबल मिलाउन थाले। आठ बजे सुरु भएको ‘मेहेफिल’ ४ बजेसम्म चल्यो।
गुरुङले ’नौलाख तारा उदाए’ गाउँदा राजा महेन्द्र एकदमै उत्साही हुन्थे। त्यहाँ नेपाली जातिले दार्जिलिङ लगायतको भूमिमा गएकोमा पश्चताप गरेको भाव छ।
‘नसम्झ आज नेपाली सन्चोले यहाँ बाँचेको
काँडाकै माझ पहाडी फूल छैन र कहाँ हाँसेको, छैन र कहाँ हाँसेको
सुनको सपना आँसुमा किन हो बाँधिल्यायो नि
घरको माया बिर्सेर किन पो यहाँ आयो नि।’
अगमसिंह गिरीले नै रचना गरेको अर्को गीत ’नजाउँ फर्की नेपाल’ सुनाउँदा भने महेन्द्रले मुख बिगारेका थिए।  काठमाडौंको कार्यक्रमको इतिवृत्तान्त कार्थकले अम्बर गुरुङ, गोपाल योञ्जन लगायतबाटै सुन्न पाएका हुन्। कार्थकसँग गुरुङ भन्थे, ‘राजारानीले कस्तो धैर्य गरेर सुनेको?’
Ambar-Gurungयो टोलीलाई नेपाल बोलाउनु महेन्द्रको राजनीतिक चाल हो जस्तो लाग्छ कार्थकलाई। विदेशमा रहेका नेपाली प्रतिभालाई देश फर्काउने महेन्द्रको नीति नै थियो। उनले लैनसिंह वाङदेललाई फ्रान्सबाट काठमाडौं ल्याइसकेका थिए। रनवीर सुब्बा पनि काठमाडौं आइसकेका थिए।
आसामबाट हरिभक्त कटुवाललाई पनि काठमाडौं ल्याए। दार्जिलिङका प्रतिभालाई पनि काठमाडौं ल्याउने उनको चाहना थियो। यसकै लागि उनले यो कार्यक्रम राखेका थिए।
नेपाल आगमन
‘नौलाख तारा टुर’ पछि टोलीका सबै खुसी थिए। अम्बर गुरुङ पनि खुशी नै थिए तर दुःखको अनन्त शृंखला उनलाई पर्खिबसेको थियो। त्यो शृंखला यही बेलाबाट सुरु भयो। भारत सरकारले ‘नौलाख तारा उदाए’लाई प्रतिबन्धित गर्यो। तर, यो गीत लोकप्रीय भइसकेको थियो। अल इन्डिया रेडियोमा बज्न छाडे पनि नेपालमा भने झन्झन् लोकप्रिय हुँदै गयो। कार्थक भन्छन्, ‘अलइन्डिया रेडियोमा बज्न छोड्यो, तर रेडियो नेपालमा त्यति नै गुञ्जिन थाल्यो।’
भारत सरकारले यो गीतमा किन प्रतिबन्ध लगायो त?
आरोप थियो– ‘एन्टिनेसनालिस्ट’।
‘गीतको लिरिक्स हेर्दा त्यस्तो राष्ट्रियताविरोधी त केही देखिँदैन’ कार्थक भन्छन्, ‘त्यतिबेला भर्खर भारत–चीन युद्ध भएको थियो। यसकारणले पनि राष्ट्रवादको ज्वरो थियो। ‘किन पो यहाँ आयो नि’ भन्ने शब्दको कारणले पनि हुनसक्छ।’
सरकारले गीतमा मात्रै प्रतिबन्धित लगाएन, अम्बर गुरुङको पछाडि जासुस नै खटायो। सेन्ट्रल इन्भेस्टिगेसन ब्युरोको जिल्लास्तरीय निकाय डिस्ट्रिक्ट इन्भेस्टिकेसन ब्युरो ‘डिआइबी’ उनको पछि लाग्यो। घर, अफिस, रेष्टुँरा सबै ठाउँ जासुसले उनलाई पछ्याउन थाल्यो। गुरुङ खपिनसक्नु उकुसमुकस भएर जागिर खाइरहेका थिए।
डिआइबी नै पछि लागेपछि सबै शुभचिन्तकले सुझाए, ‘अम्बर, अब जागिर छोड। अरु उपाय छैन।’
amarउनलाई राजीनामा गर्न बाध्य पारियो। जागिर छोडेपछि गुरुङ पर्नुसम्मको पीडामा परे। उनी पूरै कलाकार स्वभावका मान्छे, व्यवहारिक थिएनन्। जागिर नभएपछि दालचामलको पिरलोले सताउन थाल्यो। चार छोराछोरी हुर्काउनु र पढाउनु थियो।
कार्थक त्यतिबेला ब्यान्ड चलाउन थालेका थिए, ‘हिलियन्स’। ‘हिलियन्स’ले राम्रै कमाइ गर्न थालिसकेको थियो। पैसाको अभावले पिरोलिइरहेका गुरुङलाई यतिबेलै कालिम्पोङमा ‘शो’ गर्ने विचार आयो। गुरुङले कार्थकलाई सहयोग गर्न आग्रह गर्दै चिठी लेखे, ‘पिटर कम टु कालिम्पोङ विथ योर ब्यान्ड एन्ड हेल्प मी फर शो।’
गुरूलाई सहयोग गर्न पाउनु चेलाको अहोभाग्य नै हो। ‘आफ्नै खर्चमा ल्यान्डरोभर बुक गरिकन हामी दार्जिलिङबाट कालिम्पोङ गयौं,’ कार्थकले पुराना दिन सम्झिए।, ‘उहाँले दुइटा–तिन्टा गीत गाउने, बाँकी सबै हामीले नै गाउँथ्यौं। उठेको सबै पैसा बुढालाई नै दिन्थ्यौं।’
खुलेर हाँस्दै उनले भने, ‘हामी त पैसा कमाउने ब्यान्ड उबेलाको।’
यसरी दार्जिलिङमा समस्या परिरहेको बेला राजा महेन्द्रले काठमाडौं आउन निम्ता दिए। यसो त यसअघि पनि महेन्द्रले काठमाडौं बस्न आग्रह नगरेका होइनन् तर उनले स्वीकारेका थिएनन्। दार्जिलिङको कष्टमय जीवनबाट मुक्ति खोजिरहेका गुरुङका लागि काठमाडौं राम्रै विकल्प थियो।
गुरुङ नयाँ जीवनको सपना बोकेर काठमाडौं आए। कार्थक यसअघि नै काठमाडौं आइसकेका थिए। काठमाडौं आएको केही दिनपछि गुरुङले एक साताजति कार्थककै डेरामा बिताएका थिए।
राजाको हुकुमकै आधारमा गुरुङले तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत विशेषज्ञको जागिर पाए। तर, त्यो जागिर परिवार धान्न पर्याप्त थिएन। कार्थक भन्छन्, ’उनको पुर्ख्यौली थलो यो थिएन। बाबुबाजेले जोडेको सम्पत्ति थिएन। काठमाडौंमा घर थिएन। डेरामा बसेर चार जना छोराछोरी हुर्काउनु सजिलो हुँदैन। आफूले बोलाइसकेपछि राजा महेन्द्रले उनका लागि बस्ने ठाउँ र केटाकेटीको निस्शुल्क पढाइको व्यवस्था मिलाइदिनुपथ्र्यो।’
उनले कहिल्यै खुलेर माग्न पनि सकेनन्। राजा महेन्द्रले ‘के छ अम्बर?’ भनेर सोध्दा उनी हाँसीखुसी भएर जवाफ दिन्थे, ‘ठीक छ सरकार!’
 जे छ त्यसैमा रमाउन खोज्ने उनको स्वभाव थियो।
पछि संगीत संयोजक, संगीत विभाग प्रमुख, संगीत निर्देशक लगायत विभिन्न पदमा रहेर उनले काम गरे। तै पनि तीन छोरा र एक छोरी हुर्किएपछि मात्रै उनको जीवन सहज भयो। यतिञ्जेलमा उमेरले डाँडा काटिसकेको थियो। रोगले उनलाई च्यापिसकेको थियो।
कार्थक भन्छन्, ’उनको जुन सिर्जनात्मक क्षमता हो, त्यसलाई राज्यले उपयोग गर्नै सकेन्। कम्तीमा उनलाई महिनामा एउटा गीतमा काम गर्ने अवसर रेडियो नेपालले दिनुपथ्र्यो तर उनी महिनौं ’डेट’ पर्खिरहन्थे।’
उनले कम्पोज गरेका, ईश्वर बल्लभ र बैरागी काइँलालगायत थुप्रै राम्रा गीतकारका गीत रेकर्ड भएका छैनन्। यस्तै उनले लेखेका गीत पनि रेकर्ड हुन पाएन। यी गीतलाई उनीमाथि न्याय हुने गरी रेकर्ड गराउनु पनि अबको जिम्मेवारी भएको कार्थकको भनाइ छ।
कार्थकलाई लाग्छ, प्रज्ञाप्रतिष्ठानमा उनको प्रतिभालाई सडाइयो मात्रै। उनले त्यहाँ बसेर कुनै गतिलो काम गर्न सकेनन्। अम्बर गुरुङले काम गरेन भनेर प्रतिष्ठानमा आलोचना पनि भइरहयो। तर, काम गर्न उनले कहिल्यै बजेट पाएनन्। सोचेजस्तो काम गर्न सकेनन्। अनेक योजना बनाउँथे । यी योजना कहिलेकाहीँ कार्थकलाई पनि सुनाउँथे। जब उनी प्रतिष्ठानमा पेस गर्थे, बजेट छैन भनेर निराश हुन्थे।
उनले माधवप्रसाद घिमिरेले लेखेको गीतिनाटक ’मालतीमंगले’का ४० वटा गीतमा संगीत भरेका छन्। यो नाटक काठमाडौंमा त ‘हाउसफूल’ भएर महिनौं चल्यो नै, हङकङ र अमेरिकामा पनि धेरैले मन पराए। राष्ट्रकवि घिमिरे भन्छन्, ‘उहाँको संगीतका कारण यो नाटक यति राम्रो भएको हो।’
गुरुङले देवकोटाको मुनामदन र कुञ्जीनीमा पनि संगीत भरे। यो अवधिमा उनले कम्तीमा पनि पाँच सय गीतमा संगीत भरे। यतिबेला उनले गाएका केही गीत नेपाली आधुनिक संगीतका कालजयी गीत बने। ‘म अम्बर हुँ तिमी धर्ती, लाख चाहे पनि हाम्रो मिलन कहिल्यै नहोला’ भन्ने गीतले उनलाई अर्को उचाइ दियो। उनले नेपाली सेनाको गीत ’रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो’ मा पनि संगीत गरे।
उनलाई विभिन्न समयमा सरकारले ‘गोरखा दक्षिणबाहु’, ‘इन्द्रराज्यलक्ष्मी’, ‘छिन्नलता गीत पुरस्कार’ लगायतका पुरस्कार प्रदान गर्यो। यस्तै २०५४ सालमा जगदम्बा श्री सम्मान पनि प्राप्त गरे।
उनलाई पञ्चायतले काठमाडौं बोलाएको थियो, पञ्चायतकालभरि पञ्चायतकै पक्षमा रहे। ०४६ सालमा बहुदल स्थापना भएपछि उनले सजिलै नयाँ परिवर्तन आत्मसात गरे। ०६२–६३ को जनआन्दोलनपछि उनले महत्वपूर्ण अवसर र जिम्मेवारी पाए। राजाले बोलाएर काठमाडौं आएका सर्जकले गणतन्त्र नेपालको राष्ट्रिय गीतमा संगीत सिर्जना गरे। त्यस्तै नाट्यसंगीत प्रज्ञा प्रतिष्ठान बनेपछि यसको संस्थापक कुलपति नियुक्त भए।
उनको कार्यकालमा नाट्यसंगीतले त्यस्तो उल्लेखनीय काम केही गर्न सकेन। धेरै समय त कार्यालय कहाँ राख्ने भन्ने विवादमै बित्यो। बल्ल भवनको टुंगो लाग्यो। संगठनको संरचना बनाउनु र कर्मचारी व्यवस्थापन गर्नुमै उनको समयावधी सकिइहाल्यो।
अन्तिम इच्छा
 तत्कालीन शाही नेपाल प्रज्ञा प्रतिष्ठानमै हुँदा उनको एउटा सपना थियो, एउटा नेपाली चेम्बर अर्केस्ट्रा बनाउने। ६ जना जतिको अर्केस्ट्रा बनाउने उनले सोचेका थिए। तर २८ वर्ष प्रज्ञा प्रतिष्ठानमा र छोटो अवधि संगीत नाट्यमा रहँदा उनले यो सपना पूरा गर्न सकेनन्। पश्चिमा संगीत वा शास्त्रीय संगीतमा नभएर नेपाली लोकबाजाहरूकै अर्केस्ट्रा बनाउन सके हुन्छ भन्ने थियो।
कोरिया, चीन जस्ता मुलुकले अर्केस्ट्राको राम्रो उपयोग गरेको कार्थक बताउँछन्। भारतमा पनि सांस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने छ वटा अर्केस्ट्रा छन्। अमेरिकाको न्युयोर्कमा त हजार जना जति संगीतकार चाहिने ‘फिल हार्मोनी’ नै छ। नेपालले पनि नेपालीपन झल्काउने चेम्बर अर्केस्ट्रा बनाउन आवश्यक भएको उनको ठहर थियो। सारंगी, मादल आदि प्रयोग गरेर नै नेपाली अर्केस्ट्रा बनाउन सकिने उनले सपना देखेका थिए।
कार्थक भन्छन्, ‘उनको यही सानो सपना पूरा गर्न सकेमात्रै उनीमाथि सच्चा श्रद्धाञ्जलि हुने छ।’
‘बुझ्छ र कल्ले रोएको मुटुमा काँडा लिएर
अरूका सारमा हाँसेको आँसुका घुट्का पिएर, आँसुका घुट्का पिएर
पहाडी फूल नफक्री किन हो चुँडिल्यायो नि
मनको आगो निभाउन किन पो यहाँ आयो नि।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV