२४ जेष्ठ २०७३, सोमबार

तुलसीपुर (दाङ), जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले वातावरण संरक्षण गर्न सरकार, संसद् र जनता सबै एक भएर अभियानका रुपमा लाग्नुपर्ने बताउनुभएको छ ।

Rambaran
विश्व वातावरण दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ दाङले आज घोराहीमा आयोजना गरेको ‘दाङको वातावरण संरक्षणमा सरोकारवाला निकायको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक सम्पदाको वैज्ञानिक प्रयोग संरक्षणसँगै चुरे संरक्षणबाट सम्पदाको बचाउ गर्नसके भविष्यमा आइपर्ने वातावरणीय सङ्कटलाई हटाउन सकिने बताउनुभयो । वातावरण संरक्षणमा ध्यान नदिएकै कारण जलवायु परिर्वतनको असर बढ्दै गएको उहाँको भनाइ छ ।

पूर्वराष्ट्रपति डा यादवले हिमाल, पहाड र तरार्ईलाई जोडी एकता कायम गर्न चुरे संरक्षण कार्यक्रम ल्याएको बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापन अहिले खाँचो भएको भन्दै उहाँले वन व्यवस्थापन नहुँदा चुरे विनास भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

पूर्वराष्ट्रपतिले फरक प्रसङ्गमा देशमा एकता कायम गरी संविधान कार्यान्वयनमा जुट्न अपिलसमेत गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV