२३ जेष्ठ २०७३, आईतवार

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले मध्य तराईको धनुषा र महोत्तरीमा रहेका सहकारी संस्थाहरुबाट वितरण गरिँदै आएको रासायनिक मल किसानसम्म नपुग्दै वीचबाटोबाट व्यापारीहरुलाई विक्री वितरण गर्दै आएको तथ्य बाहिर आएकोे हो ।

सरकारले कृषि सामग्री मार्फत कृषि उत्पादन बढाउनका लागि सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराउँदै आएको छ । तर कृषि सामग्री जनकपुरले सहकारी दलालहरुसँग मिलेर व्यापारीहरुलाई बीच बाटोबाटै बिक्रीवितरण गर्ने गरेको किसानहरुको दावी छ ।

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले धनुषामा रहेको एक सय ९७ र महोत्तरीमा रहेको ९४ वटा सहरकारी संस्थामार्फत किसानलाई रासायनिक मल पु¥याउनु पर्ने हुन्छ । तर अधिकांश सहकारी संस्थाले  आवश्यकता भन्दा बढी रासायनिक मल लैजाने गरे पनि सो मल किसानसम्म नपुगी सहकारी संस्थाले बीच बाटोमै विक्रेतालाई बढी रकम लिएर बेच्ने गरेको कृषकहरुको गुनासो गरेका छन् ।

सहकारी संस्थाले तोकिएको मूल्यभन्दा बढी रकम लिने र जथाभावी ढुवानी खर्च राख्ने गरेकाले किसानले  मँहगोमा मल किन्नुपर्ने बाध्यता रहेको छ । सरकारले कृषकलाई सहुलियत दरमा दिने ५० किलोको युरिया मलको मूल्य प्रतिबोरा ९ सय ५२ रुपैयाँ रहेको छ । यस्तै ५० केजीको डिएपी मल प्रतिबोरा दुई हजार तीन सय एक, पोटास मल प्रतिबोरा एक हजार छ सय एक र २५ किजीको जैविक मलको मुल्य प्रतिबोरा एक सय ५१ रुपैयाँ सरकारले तोकेको छ । तर अघिकांश सहकारी संस्थाले ढुवानी खर्चको नाममा चर्को मूल्य लिएर रासायनिक मल बिक्री गर्ने गरेको धनुषाका कृषकहरुको गुनासो रहेको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड जनकपुर शाखाका कर्मचारीहरुले सहकारी संस्थाहरुसंगको मिलोमतोमा यस्तो गर्ने गरेको कृषकहरुको आरोप छ ।

यसैबीच सरकारी अनुदानको रासायनिक मल कृषि सामग्री कम्पनीले किसानलाई सोझै उपलब्ध गराउन नसकेकै कारण सहकारी संस्थाले मनोमानी ढङ्गबाट बिक्री गर्दा यसबाट किसान प्रभावित भएको  कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरको स्वीकारोक्ति छ ।

यसै त बेलमा आवश्यक मात्रामा मल नपाउँदा बेला बेलामा हैरानी खेप्दै आएका कृषकहरु सहकारी संस्थाहरुको मनोमानीका कारण चर्को मूल्यमा रासायनिक मल किन्न बाध्य भएका छन् । यसबारे तत्काल अनुगमन गरी यसमा संलग्नहरुलाई कानून बमोजिम कारवाही गर्नुपर्छ । किनभने कृषकका लागि आएको मलमा सबैभन्दा बढी उनीहरुकै अधिकार रहन्छ ।

 

LIVE TV