२३ जेष्ठ २०७३, आईतवार

पूर्वको पर्यटकीय गन्तव्य मध्येको एक भेडेटारका होटलहरु आन्तरिक तथा बाह्य पर्यटकहरुले प्रायः नै भरिभराउ हुन्छन् । तर पछिल्लो समय होटल व्यवसाय बढ्ने क्रमसंगै भेडेटारमा पानीको अभाव पनि बढ्न थालेको छ । यसबाट यस क्षेत्रको पर्यटन व्यवसाय समेत प्रभावित हुने आशंका बढेको छ ।

बाह्रै महिना चिसो मौसम हुनु र छिनछिनमा कुहिरोले छोपिनु भेडेटारको बिशेषता हो । धरानबाट करिब १७ किलोमिटर उत्तरमा अवस्थित भेडेटारमा दैनिक सयौं पर्यटकहरु पुग्ने गर्छन् । दैनिकजसो स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने भेडेटारमा अहिले घरपिच्छे होटलहरु संचालनमा आएका छन् । जसले गर्दा भेडेटारका स्थानीयवासीको मुख्य आयस्रोत होटल व्यवसाय बन्न पुगेको छ ।

तर घरैपिच्छे होटलहरु संचालन हुनथालेपछि अहिले भेडेटारमा पानीको अभाव हुन थालेको छ । व्यवसाय चल्ने मुख्य समयमा नै पानीको अभाव हुने गरेपछि होटल व्यवसायीहरु समस्यामा परेका छन् । उनीहरुका अनुसार वैशाखदेखि कार्तिकसम्म होटल व्यवसायको लागि महत्वपूण समय हो तर वैशाखदेखि नै पानीको अभाव हुनथालेको छ ।

२०४० सालदेखि भेडेटारमा विभिन्न खोलाबाट पानी ल्याई वितरण गर्न थालिएको थियो । अव्यवस्थित रुपमा वितरण गरिदै आएको खानेपानी २०६८ साल देखि गोर्खा वेलफेयर सोसाइटी धरानले ट्याङकी निर्माण गरिदिएपछि व्यवस्थित हुन थालेको थियो । तत्कालिन समयमा १ सय ५ घर धुरीलाई पानी वितरण गर्ने योजना सहित ट्याङ्की निर्माण भएको थियो ।

तर अहिले भेडेटारमा १ सय २५ घरधुरी पुगेका छन् भने प्रत्येक घरमा होटल व्यवसाय संचालनमा आएका छन् । भेडेटारमा प्रति घर दैनिक ३ हजार लिटर पानीको आवश्यकता हुने गर्दछ तर अहिले ५ सय देखि १ हजार लिटर सम्म मात्रै आउने गरेको छ । गत साल वैशाख १२ गतेको भुकम्पले जरुवा पानीको मुहान पुरिदिएकाले पानीको अभाव हुन थालेको स्थानियवासीको भनाई छ ।

पानीको अभाव भएपछि स्थानियको पहलमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय धनकुटाको सहयोगमा खोलाको पानी बोरिङ गरि ल्याउने तयारीमा स्थानीय लागेका छन् । स्थानिय पटपटे खोलाबाट लिफटिङ गरि पानी ल्याउने योजनाका साथ काम अघि बढिसकेको भेडेटार खानेपानी तथा सरसफाई समितीका अध्यक्ष हरिबहादुर लिम्बुले बताउनुभयो ।

सरकारले पर्यटन व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने योजना अघि सारेको छ । पर्यटन व्यवसायका नयाँ गन्तव्यहरुको खोजि भैरहेको अवस्थामा पूर्वकै मुख्य पर्यटकीय स्थलमा पानीको खडेरी लाग्नु सोचनीय कुरा हो । यसमा भेडेटारवासी पनि गम्भीर हुन आवश्यक छ । अनावश्यक रुपमा बढेको होटल व्यवसायलाई व्यवस्थित गर्दै पानीको मुहानको खोजी गरि दीर्घकालीन समाधान तर्फ सचेत हुन आवश्यक छ ।

 

LIVE TV